ब्याटिङमा सन्दीप र करणको भर पर्दा ओडीआईमा क्यानडासँग नेपालको लज्जास्पद हार
काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । गएराती क्यानडामा सम्पन्न त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग १०३ रनले पराजित भएको हो । क्यानडासँग ओडीआई क्रिकेटमा नेपालको यो पहिलो हार हो ।
टस जितेर नेपालले पहिला बलिङ गर्नेृ निर्णय लिएपछि सुरुवाती ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २५३ रन बनायो । क्यानडाका लागि कप्तान निकोलस किर्टनले सर्वाधिक अविजित ७३ रन बनाए । ४४ बल खेलेका उनले तीन चौका र छ छक्का प्रहार गरे ।
त्यस्तै नवनित धलिवालले ४८, डिलोन हलिगरले ३०, हर्ष ठाकरले २७ तथा प्रगत सिंह र साद बिन जफरले समान १७ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र ललित नारायण राजवंशीले समान दुइ विकेट लिंदा सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले समान एक विकेट लिए ।
२५४ रनको मध्ययम लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४०।१ ओभरमा १५० रनमा अलआउट हुन पुग्यो । नेपालका लागि करण केसीले २४ बलमा २७ रन र सन्दीप लामिछानेले १६ बलमा २२ रन बनाए ।
ओपनर आसिफ शेखले ३० बलमा २० रन बनाउँदै आउट भए । अर्का ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले ५ रन बनाए । यी चारै खेलाडी क्यानडाका तीव्रगतीका बलर डेलिन हेलिगरको बलमा आउट भएका थिए ।
गुलसन झाले २७ बलमा १५ रन जोड्दै डेलिन हेलिगरको बलमा एलबिडब्लु आउट भए । नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका भीम सार्की ३० बलमा १८ रन बनाए । भीम यसै खेलमा डेब्यु गरेका अखिल कुमारको बलमा एलबिडब्लु आउट भए ।