बाढी प्रभावित भन्छन् : ‘अब हाम्रा दुःखका दिन सुरु भए’

जिल्लाको भजनी नगरपालिका-३ का सन्तराम चौधरी बर्खायाम सुरु भएसँगै चिन्तित हुनुहुन्छ । बर्सेनि काढा नदीको बाढीबाट महिनौँ दिनसम्म घरविहीन हुनुपर्ने बाध्यता सन्तरामका लागि अझै अन्त्य हुनसकेको छैन ।
“असोज लागेपछि बर्खाको पीडा कम हुँदै जाँदा असार सुरु भएपछि पुरानै भएर बल्झिएर आउँछ । त्यो पीडामा मल्हम लगाउने कोही छैन”, सन्तराम भन्नुहुन्छ, “बाढीबाट विस्थापित भएर सडकमा आउँदा चाउचाउ र चिउरा ल्याएर आउनेहरू त्यो बिचको समयमा कोही पुग्दैनन् । नदी नियन्त्रणका लागि नीति निर्माण बनाएर कार्यान्वयन गर्ने तहमा पुगेकाहरूको बेवास्ताका कारण बर्सेनि हामीलाई सास्ती हुँदै आएको छ ।”
भजनीका शर्मिला चौधरीलाई पनि बर्खा सुरु भएपछि निकै चिन्ता हुन्छ । उहाँलाई आफ्नोभन्दा बढी चिन्ता बालबालिका र पशुचौपायाको हुने गरेको छ । “प्रायः रातिको समयमा आउने बाढीबाट बढी जोखिम हुन्छ । अँध्यारो रातमा बालबालिका, पशुचौपाया र घरका महत्त्वपूर्ण सरसामान कसले र कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता हुन्छ”, शर्मिला भन्नुहुन्छ, “जन्मिँदा त्यहीँ बाढीको जोखिममा जन्मेकी म अन्तिम श्वाससम्म पनि बाढीको चिन्ताले छोड्लाजस्तो लाग्दैन ।”
बाढी र डुबानका कारण विस्थापित भएका नागरिकलाई राहतमा जुट्नुभन्दा सधैँका लागि बाढीको छुटकारा यहाँका स्थानीयले चाहेका क्षितिज चौधरी बताउनुहुन्छ । बर्खायाममा डुबानको जोखिम भएका क्षेत्र र बाढीको पानी निकास हुनेगरी स्थानीय सरकार र सङ्घ तथा प्रदेश सरकारले समन्वय गरेर जोखिम कम गर्न पहल गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।