काठमाडौँ: बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन भएको छ । उक्त दुर्घटनामा ३३ वर्षीया बुढासँगै उनकी आमा ६१ वर्षीया गोपीमाया बुढा तथा अर्का एक पुरुषको समेत मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार रा१झ २०० नं को सरकारी जीप आज बिहान गलकोट–२ भुङ्खानीमा सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । तीनै जनाको घट्नास्थलमै ज्यान गएको उनले बताए । घटनास्थलबाट एक घाइतेलाई उद्धार गरी उपचारका लागि धौलागिरि अस्पताल पठाइएको छ । रुकुम पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी जीवनकुमार खड्काका अनुसार उक्त जीपमा पुथाउत्तरगङ्गा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार थिए । उपाध्यक्ष बुढा केही दिनअघि आमालाई लिएर काठमाडौं जानुभएको जानकारी पाएको उनले बताए ।