Online News Portal

प्रहरी परिसर काठमाडौंमा अब दुई जना प्रहरी उपरीक्षक

काठमाण्डौं/ प्रहरी परिसर काठमाडौंमा अब दुई जना प्रहरी उपरीक्षक (एसपी) रहने भएका छन्। प्रहरी प्रधान कार्यालयले मुद्दा हेर्ने गरी एक जना एसपी खटाउने निर्णय गरेको हो। प्रहरी महानिरीक्षक शैलेश थापाले एसपी सानुराम भट्टराईलाई काजमा पठाउने निर्णय गरेका छन् ।यसअघि एसपी दिनेशराज मैनाली त्यहाँ कार्यरत थिए ।

तर मुद्दाको चाप बढी हुने र अप्रेशनको काम पनि धेरै हुने भएकाले एक जना एसपीले मात्रै हेर्न नभ्याउने भएकाले दुई जना एसपी राख्न लागिएको हो। यसअघि चाप बढी भएका तराईका जिल्लामा पनि दुई जना डीएसपी खटाइँदै आएको छ । विराटनगर पर्सा लगायत तराईका जिल्लामा दुई जना डीएसपी कार्यरत छन्। काठमाडौं परिसरमा दुई जना एसपी आवश्यक भएको यसअघि नै गठित एक छानबिन समितिले पनि सिफारिस गरेको थियो ।

अपहरणमा संलग्न रहेको अभियोगमा दुर्गाबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको थियो। तर उनीविरुद्ध प्रमाण जुटाउन नसक्दा बुढाथोकी छुटेका थिए। प्रहरीको कमजोरीका कारण अभियुक्त छुटेपछि महानगरीय प्रहरी कार्यालयले एसएसपी चक्रबहादुर सिंहको नेतृत्वमा छानबिन समिति बनाएको थियो। उक्त समितिले एक जना मात्रै एसपी हुँदा सबै हेर्न नभ्याएको भन्दै अर्को एसपी पठाउन सिफारिस गरेको थियो ।

यस विषयमा जिल्ला अदालत काठमाडौंको फैसला पनि केही दिनअघि आएको छ। फैसलामा पनि अदालत नभई प्रहरीले नै प्रमाण जुटाउनु पर्ने विषय उल्लेख छ। फैसलामा प्रहरीको कमजोरीकै कारण अभियुक्त छुटेको देखाइएको छ ।

त्यसको केही दिनमै प्रहरी प्रधान कार्यालयले एसपी थप गरेको हो । एसपी भट्टराई केही दिनमै परिसर जानेछन्। काठमाडौं परिसर प्रमुखमा एसएसपीको दरबन्दी हुन्छ। अहिले परिसर प्रमुखमा सुदीप गिरी कार्यरत छन् ।

Advertisement

Click the button below to skip this ad and read the full article.