काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौलीमा आयोजित कार्यक्रममा सङ्घीय लोकतान्त्रिक व्यवस्थामा सबैभन्दा बढी माया नेपाली कांग्रेसको रहेको बताएका छन्। उनले भने, “यो व्यवस्थालाई जोगाइ राख्न सके मात्र सहिदप्रति उच्च सम्मान हुनेछ,” र थपे, “कांग्रेसले धेरै कुरा सहेर यो व्यवस्थालाई जोगाइरहेको छ।”
कार्यक्रममा, नेता निधिले आगामी २०८४ को निर्वाचनमा पार्टीका जनप्रतिनिधि र कार्यकर्तालाई अन्य कुराको पछि नलागी, निर्वाचनमा केन्द्रित भएर काम गर्न आग्रह गरे। उनले भने, “अबको १३ महिनापछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँगको सात बुँदे सहमतिअनुसार पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र त्यसपछि कांग्रेसले देखेका सपना पूरा गर्न थप सहज हुँदै जानेछ।”
मधेस प्रदेशमा योजना छनोटसँग जोडिएका नकारात्मक कुराहरू आइरहेको भन्दै, नेता निधिले प्रदेशलाई नै बदनाम गर्ने काममा नलाग्न जनप्रतिनिधिलाई आग्रह गरे।
कार्यक्रममा कांग्रेस नेता एवं मधेश प्रदेशसभा सदस्य वीरेन्द्र सिंह, गङ्गीलाल राय, पूर्वमन्त्री शम्भु श्रेष्ठ, जिल्ला सभापति सुरेन्द्र सिंहलगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो।