Online News Portal

‘दुई अतिवादविरुद्ध निर्णायक लडाइँ’ : पोखराबाट गगन थापाको कडा सन्देश

पोखरा । नेपाली कांग्रेसले शुक्रबार पोखराको अमरसिंह चौरमा आयोजना गरेको सभामा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले वर्तमान राजनीतिक अवस्थाबारे धारणा राखेका छन्। कांग्रेस कास्कीको आयोजनामा भएको सभामा थापाले मुलुक ‘दुई अतिवाद’को जोखिममा रहेको बताएका छन्।

थापाले विशिष्ट परिस्थितिमा निर्वाचन हुन लागेको उल्लेख गर्दै ०८४ मा हुनुपर्ने निर्वाचन दुई वर्षअघि किन हुँदैछ भन्ने प्रश्न उठाए। “यो विशिष्ट अवस्थामा हुँदैछ। यसको अर्थ के हो?” उनले प्रश्न गरे।

उनका अनुसार एकातर्फ जेनजी आन्दोलनलाई आन्दोलन नै नमान्ने प्रवृत्ति छ भने अर्कोतर्फ आन्दोलनको मौका छोपेर अराजक गतिविधि गर्ने खतरनाक अतिवाद देखिएको छ। “यहाँ दुईवटा अतिवादी तत्व छन्। एउटाले असन्तुष्टि देख्दैन, अर्काले मौका छोपेर सिंहदरबार जलाउन पनि लगाउँछ र आफैं जेलबाट भाग्छ,” उनले भने। आगामी पाँच वर्ष देश सम्हाल्ने जिम्मेवारीपूर्ण समय भएको उनको भनाइ थियो।

थापाले देशले अब कुनै पनि द्वन्द्व थेग्न नसक्ने अवस्था आएको भन्दै कांग्रेस सुधारको एजेन्डासहित अघि बढेको बताए। देशलाई भ्रष्टाचारमुक्त बनाउन शक्तिशाली आयोग गठन गर्ने र ०४६ सालपछि प्रधानमन्त्री तथा मन्त्री भएकाहरूको सम्पत्तिबाट छानबिन सुरु गर्ने योजना रहेको उनले उल्लेख गरे। सबै काण्डको अनुसन्धान गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन कडा कानुन बनाउने जिम्मा कांग्रेसले लिने उनको भनाइ छ। बैशाख पहिलो साता विस्तृत योजना सार्वजनिक गर्ने र जेठ पहिलो साता परिणाम देखाउने दाबी उनले गरे।

उपसभापति विश्वप्रकाश शर्माले भने संसदको पाँचवर्षे कार्यकालका एजेन्डामा सार्वजनिक बहस गर्न प्रस्ताव गरे। “फागुन १८ गते होलीका दिन प्रधानमन्त्रीका उम्मेदवारबीच खुलामञ्चमा बहस गरौँ,” उनले चुनौती दिँदै अन्य दललाई सहमतिका लागि आह्वान गरे।

शर्माले नयाँ विकल्प खोज्ने क्रममा विगतका गल्ती नदोहो¥याउन मतदातालाई सचेत गराए। ०६४ सालमा माओवादीलाई झन्डै दुईतिहाइ मत दिँदाको अनुभव स्मरण गर्दै उनले विवेकपूर्ण निर्णय आवश्यक रहेको बताए। अहिलेको मूल प्रश्न सिंहदरबारमा नेतृत्व कसले गर्ने र सम्भावित चुनौतीहरूलाई कसरी सम्हाल्ने भन्ने भएको उनको निष्कर्ष थियो।

Advertisement

Click the button below to skip this ad and read the full article.