ताप्लेजुङका तीन पालिका प्रमुखद्वारा कोशी प्रदेश सरकारका दुई निर्णय सच्याउन माग

काठमाडौँ : ताप्लेजुङ जिल्लाका मैवाखोला, मेरिङदेन र मिक्वाखोला गाउँपालिकाका प्रमुखहरूले कोशी प्रदेश सरकारका दुई निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन्। मेरिङदेनमा आयोजित संयुक्त भेलामा पालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतहरूले ताप्लेजुङलाई समेट्न माग गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन्।
नेपाल र स्विस सरकारबीचको दुई पक्षीय सम्झौताअनुसार सञ्चालन हुन लागेको कोशी प्रदेशको पदमार्गमा आधारित पर्यटन विकास परियोजनामा ताप्लेजुङका यी पालिकाहरूलाई नसमेटिएको भन्दै उनीहरूले गुनासो गरेका छन्। लालीगुँरास पदमार्गअन्तर्गत ताप्लेजुङका मैवाखोला, मेरिङदेन र मिक्वाखोला पालिकाहरू पनि पर्नुपर्ने माग गरिएको छ।
यस्तै, प्रदेश सरकारले तयार पारेको दोस्रो आवधिक योजनामा १९ वटा रूपान्तरणकारी कार्यक्रम छनोट गर्दा ताप्लेजुङलाई समेटिएको छैन। प्राकृतिक स्रोत र जैविक विविधताले भरिपूर्ण ताप्लेजुङलाई योजनाबाट बाहिर राखिनु अनुचित भएको भन्दै तत्काल सच्याउन आग्रह गरिएको छ।
तीन पालिकाले प्राकृतिक विपद् व्यवस्थापन लगायतका क्षेत्रमा आपसी समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। संयुक्त विज्ञप्तिमा मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम, मेरिङदेनका युक हां बिर हाङ्गाम (डम्बर) र मिक्वाखोलाका भक्त बहादुर कार्कीले हस्ताक्षर गरेका छन्।