काठमाडौँ: नेकपा एमालेकी सांसद सम्झना थपलियाले सिरहा लगायतका तराई÷मधेसका जिल्लाहरुमा शान्ति सुरक्षाको अवस्था बिग्रिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगत तीन महिना भित्र श्रृंखलावद्ध रुपमा भएको एक दर्जन बढी चोरी डकैतीका घटनाले समाजमा त्रास पैदा भएको बताउनु भयो । उहाँले गाउँ गाउँमा अपराधिक समूहले पर्चा र पोस्टर टाँसेरै सूचना दिने काम गरेको भन्दै नागरिकहरुमा डरले गाउँमा बस्न सक्ने अवस्था नरहेको बताउनु भयो । उहाँले नागरिकहरु अनिदो रही घरेलु हतियार लिएर रातभर जाग्रम बस्नुपर्ने परिस्थिति सिर्जना भएको भन्दै सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सिरहा जिल्ला लगायत तराई मधेसका अन्य जिल्लाहरुमा अहिले शान्ति सुरक्षाको अवस्था हदैसम्म बिग्रिएको छ । विगत तीन महिना भित्र श्रृंखलावद्ध रुपमा भएको एक दर्जन जति चोरी डकैतीको घटनाले समाजको मनोविज्ञानमा डर र त्रास पैदा गरेको छ । एकातिर श्रृंखलावद्ध चोरी र डकैतीको घटना भइरहेको छ । अर्कातिर गाउँ गाउँमा अपराधिक समूहले यति दिनभित्र यो गाउँ लुट्छौँ, यति दिन भित्र यो गाउँ चोरी गर्छौं भनेर पोस्टर र पम्प्लेट टाँसेको अवस्था छ । सुन्दा यो अपत्यारिलो छ । तर सत्य कुरा यही हो ।’
सांसद थपलियाले स्थानीय प्रहरी प्रशासनले परिस्थिति काबुमा लिन नसकेको भन्दै सुरक्षा निकाय चुस्त बनाउन सरकारसँग आग्रह गर्नुभयो ।