Online News Portal

जेनजी आन्दोलनका अगुवा सबल गौतम : ‘हिंसा, तोडफोड र आगजनी हाम्रो एजेण्डा नै थिएन’

काठमाडौँ : माइतीघरबाट सुरु भएको जेनजी आन्दोलन भदौ २३ मा नियन्त्रणबाहिर पुगेपछि त्यसका प्रारम्भिक अगुवा सबल गौतम मानसिक रूपमा आजसम्म पनि त्रस्त छन्। भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण रूपमै सुरु गरिएको अभियान अचानक ठूलो भीडको आन्दोलनमा बदलिँदा आफूले सोचेभन्दा बाहिर गएको उनले बताए।

सबलका अनुसार ‘नेपो बेबी’ ट्रेन्ड, सामाजिक सञ्जालमा बढ्दो आक्रोश र सरकारद्वारा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले युवाहरू झनै उत्तेजित भएका थिए। उनी भन्छन्, “सरकारको निर्णयले आगोमा घ्यु थप्ने काम गर्‍यो, हाम्रो प्लान त शान्तिपूर्ण थियो।”

डिस्कोर्ड र टिकटकमा केही फेक अकाउन्टबाट हिंसात्मक सुझाव आएपछि उनले सहकर्मी पुरुषोत्तम यादवसहित प्रशासनमा निवेदन दिएर खबरदारीसमेत गरेका थिए। तर आन्दोलनको भीड नयाँ बानेश्वर पुगेपछि भने स्थिति पूर्ण रूपमा हातबाट फुत्किएको उनको बयान छ।

सरकारी तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड हुनुजस्ता घटनालाई सबलले पूर्ण रूपमा अस्वीकार्य बताउँदै भने, “कुटपिट, जलाउने, मारकाट – यी कुनै पनि कुरा हाम्रो एजेण्डामा थिएनन्।”

उनीका अनुसार सुरक्षा निकायले घटना पूर्वानुमान र व्यवस्थापनमा ठूलो कमजोरी देखायो। जेनजीका अगुवाहरू आगजनीमा संलग्न भएको दाबी उनले अस्वीकार गर्दै पछिल्ला दिनमा सुदन गुरुङले नेतृत्व समातेको स्वीकार गरे।

सरकारका मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक नगरेको विषयमा सबलको असन्तुष्टि छ। “भ्रष्टाचारविरोधी आन्दोलनबाट बनेको सरकार हो, नैतिकताका लागि सम्पत्ति सार्वजनिक गर्नुपर्थ्यो,” उनी भन्छन्।

जेनजीभित्र देखिएको फुटबारे उनले चिन्ता व्यक्त गर्दै अभियानका मूल एजेण्डा हराउँदै गएको बताए। “भ्रष्टाचार एकै दिनमा अन्त्य हुने कुरा होइन, तर आन्दोलनभित्र नै राजनीति छिर्‍यो, त्यो भने गलत भयो,” उनले भने।

Advertisement

Click the button below to skip this ad and read the full article.