गण्डकी प्रदेशमा ९ वटा मन्त्रालय बनाउने कांग्रेस र एमालेबीच सहमति
काठमाडौँ: सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) बीच गण्डकी प्रदेशमा नौ वटा मन्त्रालय बनाउने सहमति भएको छ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री रहेको अहिलेको मन्त्रिपरिषद् सात सदस्यीय रहेको छ ।
नयाँ सत्ता समीकरणअनुसार एमाले पनि सरकारमा सहभागी हुने भएपछि मन्त्रालयको सङ्ख्या बढाउने सहमति भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित पाँच र एमालेले चार वटा मन्त्रालय लिने सहमति भएको छ । आउँदो आइतवारसम्ममा मन्त्रालयको बाँडफाँट टुङ्ग्याएर मन्त्रीहरूको शपथ गराउने तयारी छ ।
मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिने नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई समेत समेटेर सरकार पुनर्गठन गर्ने कांग्रेसले जनाएको छ ।