क्रसर व्यवसायीहरूको आन्दोलनको चेतावनी: नविकरण प्रक्रिया अविलम्ब सुरु गर्न सरकारलाई आग्रह

काठमाडौँ : नेपालभरका क्रसर, खानी तथा बालुवा उद्योगहरू नविकरण प्रक्रियामा सरकारको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै, क्रसर व्यवसायी महासंघले चरणबद्ध आन्दोलनको चेतावनी दिएको छ। महासंघका अध्यक्ष सिताराम न्यौपानेको अध्यक्षतामा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले, पटक–पटक माग राख्दा पनि सम्बोधन नभएको भन्दै आन्दोलनको बाटो रोज्ने निर्णय गरेको हो।
महासंघका अनुसार, देशका ७७ वटै जिल्लामा कानुनअनुसार दर्ता भइ इजाजत लिएका क्रसर उद्योगहरू वर्षौंसम्म नविकरण हुन सकेका छैनन्। उनीहरूले गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, अर्थ मन्त्रालय लगायतका निकायले समन्वय गर्नुपर्ने जिम्मेवारी एक अर्कामाथि थोपरेर पन्छिने प्रवृत्ति देखिएको गुनासो गरेका छन्।
महासंघले सरकारसँग कानुनी आधारमा दर्ता भएका उद्योगहरूलाई नविकरण गरी क्रसर उत्पादन, उत्खनन तथा बिक्री वितरण गर्न पाउने वातावरण तत्काल सिर्जना गर्न माग दोहोर्याएको छ। यदि माग सुनुवाइ भएन भने, आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी दिएको छ।