Online News Portal

कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज रातिदेखि ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ : कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा आज रातिदेखि ठूलो पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेशका एक/दुई ठाउँमा आज रातिदेखि पर्सि शुक्रवार रातिसम्म र सुदूरपश्चिम प्रदेशमा भोलि बिहानदेखि पर्सि बिहानसम्म ठूलो पानी पर्न सक्ने सम्भावना छ ।

आज दिउँसो पनि मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । दिउँसो कोशी र मधेस प्रदेशका एक–दुई ठाउँमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गएराति काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा ठूलो पानी परेको थियो ।

त्यस्तै पर्वतको कर्किनेटामा रहेको वर्षामापन केन्द्रमा ८० दशमलव २ मिलिमिटर पानी परेको छ । काठमाण्डौको कपन, सुन्दरीजल, नैकाप, पानीपोखरी र बबरमहलमा रहेका वर्षामापन केन्द्रमा ठूलो वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै ललितपुरको खुमलटार र गोदावरीक्षेत्र तथा तथा सिन्धुपाल्चोकका विभिन्न ठाउँमा पनि ठूलो पानी परेको छ । उपत्यकामा अहिले बिहान वर्षा केही कम भएको छ तर रातिको पानीले काठमाण्डौका नदीमा जलसतह बढेकोले तटीय क्षेत्रमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ । बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका एक/दुई ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।