आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार
काठमाडौँ: कञ्चनपुरको बेलौरीका १७ वर्षीय युवक नसीव चौधरी मृत्यु प्रकरणले उग्र रुप लिएको छ। मृतकका आफन्तहरुले चिकित्सकलाई कारवाही र क्षतीपूर्ति माग गरेका छन। आक्रोसित पीडितका आफन्तहरुले धनगढीको नोभा अस्पतालमा ढुंगामुढा गरेपछि प्रहरीले ६ राउण्ड अश्रु ग्यास हानेको छ।नसिभका मामा रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको आरोप लगाए। उनका अनुसार परिवारले बारम्बार अन्यत्र रिफर गर्न आग्रह गरेका थिए। तर, उनको भनाई अनुसार अस्पतालले न त उचित उपचार गर्यो, न त रिफर नै गर्यो। यस्तै अहिले उनीहरूले शव नबुझ्ने अडान लिएका छन्।
पीडित पक्ष र अस्पताल प्रशासनबीच वार्ता भईरहेका बेला बाहिर जम्मा भएका आफन्तहरुले अस्पतालमा ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको हो। हिजो मात्रै पीडितका आफन्तहरुले नोभा अस्पतालको रिसेप्सनमा समेत तोडफोड गरेका थिए।
शुक्रबार अपरान्हदेखि नोभा अस्पतालमा प्रहरीको पहरा छ। आज बिहानैदेखि पीडितका आफन्तहरु अस्पतालमा आउन थालेका छन्। नसिभ चौधरी साउन ७ गते सामान्य स्वास्थ्य समस्याका कारण चेकअपका लागि नोभा अस्पताल आएका थिए। उनलाई जण्डिस भएको पुष्टि भएपछि उनी साउन ८ गते अस्पताल भर्ना भएका थिए।