Online News Portal

आइपिएल छाडेर फाफ डुप्लेसिस पिएसएलतिर: ‘नयाँ चुनौती खोज्दै’

काठमाडौँ : क्षिण अफ्रिकाका पूर्वकप्तान फाफ डुप्लेसिसले आगामी आइपिएल २०२६ का लागि अक्सनमा आफ्नो नाम नरख्ने घोषणा गरेका छन्। उनी यसपटक भारतको चर्चित लिगको सट्टा पाकिस्तान सुपर लिग (पिएसएल) खेलने तयारीमा छन्।

सामाजिक सञ्जालमार्फत जारी गरिएको संदेशमा फाफले आइपिएलमा बिताएको १४ वर्षे यात्राप्रति आभार व्यक्त गर्दै अब नयाँ चुनौतीतर्फ अघि बढ्न चाहेको बताए। लामो समय एउटै लिगमा निरन्तरता दिएपछि केही नयाँ वातावरण र फरक अनुभवको खोजीले आफू पिएसएल रोज्न पुगेको उनको भनाइ छ।

उनले लेखे, “आइपिएल मेरो क्रिकेट यात्राको ठूलो हिस्सा हो। उत्कृष्ट खेलाडी, अद्वितीय फ्रेन्चाइजी र जोशिला भारतीय फ्यानहरूसँग बिताएका क्षणले मलाई खेलाडी र व्यक्तित्व दुवै रूपमा परिष्कृत बनायो।” फाफका अनुसार भारतले उनलाई असंख्य सम्झना, पाठ र मित्रता दिएको छ, जुन जीवनभर साथ रहनेछ।

पिएसएलमा जाने निर्णयबारे बोल्दै उनले नयाँ देश, नयाँ प्रतिस्पर्धा र नयाँ माहोलको अनुभवले आफू उत्साहित भएको बताए। प्रतिभासम्पन्न खेलाडीहरूसँग खेल्न पाउने अवसरले पनि उनलाई आकर्षित गरेको उल्लेख गरे।

डुप्लेसिस पिएसएलका लागि नयाँ अनुहार होइनन्। उनले सन् २०१९–२०२१ बीच पेशावर जाल्मी र क्वेटा ग्ल्याडिएटर्सबाट केही खेल खेलेका थिए।

आइपिएल २०२५ मा दिल्ली क्यापिटल्सबाट ९ खेल खेल्दै २०२ रन बनाएका फाफ यसअघि चेन्नई सुपर किंग्स, रोयल च्यालेन्जर्स बैंगलोर र राइजिङ पुणे सुपरजायन्ट्सका लागि पनि खेलिसकेका छन्।

Advertisement

Click the button below to skip this ad and read the full article.