Online News Portal

अमेरिकी सैन्य कारबाहीले भेनेजुएला संकट गहिरियो

काठमाडौं । भेनेजुएलामाथि अमेरिकाले सैन्य आक्रमण गरेको दाबीपछि अन्तर्राष्ट्रिय राजनीतिक तनाव तीव्र बनेको छ। भेनेजुएला सरकारले यस घटनालाई आफ्नो सार्वभौमिकतामाथिको गम्भीर आक्रमणको संज्ञा दिँदै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन माग गरेको छ।

भेनेजुएलाका विदेशमन्त्री यभान गिलले अमेरिकी कारबाही अन्तर्राष्ट्रिय कानुनविपरीत रहेको भन्दै सुरक्षा परिषद्ले तत्काल हस्तक्षेप गर्नुपर्ने बताएका छन्। उनले देशको सार्वभौमिकता र अन्तर्राष्ट्रिय नियमको रक्षा गर्न विश्व समुदाय जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्।

यसैबीच, अमेरिकी आक्रमणपछि भेनेजुएलामा सत्ता परिवर्तन हुन सक्ने अनुमान पनि सार्वजनिक हुन थालेको छ। खोज पत्रकार लौरा लुमरले सामाजिक सञ्जाल एक्समार्फत स्रोतलाई उद्धृत गर्दै उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति घोषणा गर्ने तयारी भइरहेको दाबी गरेकी छन्। उनका अनुसार अमेरिकी विशेष बलले राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएपछि देशमा सत्ता रिक्तताको अवस्था सिर्जना भएको हो। तर, यसबारे भेनेजुएला सरकार वा कुनै आधिकारिक निकायबाट पुष्टि भएको छैन।

अमेरिकी कारबाहीप्रति रुसले कडा प्रतिक्रिया जनाएको छ। रुसको विदेश मन्त्रालयले यसलाई भेनेजुएलामाथिको सशस्त्र आक्रमण भन्दै तीव्र निन्दा गरेको छ। शनिबार जारी वक्तव्यमा मन्त्रालयले कुनै पनि देशलाई बाह्य हस्तक्षेपबिना आफ्नो भविष्य निर्धारण गर्ने अधिकार रहेको स्पष्ट पारेको छ।

रुसले सैन्य दबाब र हस्तक्षेपले क्षेत्रीय तथा विश्वव्यापी तनाव बढ्न सक्ने चेतावनी दिँदै सबै पक्षलाई संयम अपनाउन र संवादको बाटो रोज्न आग्रह गरेको छ। साथै, भेनेजुएलाका जनता र सरकारप्रति ऐक्यबद्धता जनाउँदै राष्ट्रसंघ सुरक्षा परिषद्को आपत्कालीन बैठकको मागलाई समर्थन गरेको छ।

यस घटनाप्रति इरानले पनि तीव्र आपत्ति जनाएको छ। इरानी विदेश मन्त्रालयले अमेरिकी सैन्य कारबाहीलाई भेनेजुएलाको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको उल्लंघन भन्दै संयुक्त राष्ट्र चार्टरविपरीत भएको बताएको छ। इरानले भेनेजुएलासँग एकता प्रकट गर्दै कुनै पनि प्रकारको सैन्य हस्तक्षेप अस्वीकार्य हुने स्पष्ट पारेको छ।

यसैबीच, अमेरिकामा भेनेजुएलाका राष्ट्रपति मादुरोविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको दाबी पनि गरिएको छ। एक रिपब्लिकन सिनेटरले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको छलफलपछि मादुरोलाई पक्राउ गरी अमेरिकामै मुद्दा चलाउने प्रक्रिया सुरु भएको जानकारी पाएको बताएका छन्।

Advertisement

Click the button below to skip this ad and read the full article.