Online News Portal

२० जनामा हैजा पुष्टि

काठमाडौँ: दुई हप्ताभित्र देशमा २० जनामा हैजा संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै साउनमा २० जनामा हैजा पुष्टि भएको भन्दै सचेत रहन आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र कैलालीमा हैजा पुष्टि भएको हो । खानेपानी दूषित भएकाले हैजा हरेक वर्ष देखिने गरेको भन्दै मन्त्रालयले हैजाको लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा जान आग्रह गरेको छ ।

हैजा भएमा पातालो दीशा हुने, वान्ता हुनेसमेत हुन्छ । हैजाका बिरामीलाई तुरुन्त उपचार गर्नुपर्ने हुन्छ ।

हैजा संक्रमण भएको एक दिनभन्दा कम समयदेखि पाँच दिनसम्म लक्षणहरू देखा पर्छन्। हैजा संक्रमण भयो र उपचार पाएन भने केही घण्टामै संक्रमितको मृत्यु पनि हुनसक्ने विज्ञ बताउँछन्। डा. पुनका अनुसार यसका मुख्य लक्षणमा पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ। कडा लक्षण देखिएमा आँखा गाडिने, मुख जिब्रो र घाँटी सुक्खा हुनु, तिर्खा लाग्नु, छाला सुक्खा हुनु, रक्तचाप कम हुन, पिसाब पहेँलो हुनु र पिसाबको मात्रा कम हुने हुन्छ।

डा पुनले मुख्यतः तीनवटा कुरामा ध्यान दिन सके हैजालाई नियन्त्रणमा राख्न सकिने बताउँछन्। पहिलो सुरक्षित पानी, व्यक्तिगत सरसफाइ र अर्को अनुगमन। उनले सबैभन्दा महत्वपूर्ण पाटो सफा र स्वच्छ पानी सेवन गर्नुपर्ने बताउँछन्। ‘हैजा दूषित पानीबाट एकदमै सहज र सरल तरिकाले फैलिने गर्छ। धाराको पानी मान्छेले उमालेर वा फिल्टर गरेर खान्छन् तर जारको पानी धेरैले त्यसो गर्दैनन्,’ उनले भने, ‘किनेको पानी पिउनयोग्य नै छ भनेर सिधै खाइन्छ। विद्यालय, कार्यालयदेखि लिएर सार्वजनिक स्थलमा जारको पानी राख्ने चलन छ। कतिपय व्यवसायीहरूले प्रशोधित नै नगरेका पानी बजारमा पठाउँदा रहेछन्। जसले गर्दा हैजाको संक्रमण फैलिन्छ।’

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button