Online News Portal

‘स्वाइन फिभर’ बाट ३९२ बङ्गुर मरे

बा्गलुङ नगरपालिकाको वडा नंं. १, २, ३ र ४ मा व्यावसायिक रूपले पालिएका बङ्गुरमा अफ्रिकन ‘स्वाइन फिभर’ देखिएको हो। जसका कारण शुक्रबारसम्म ३९२ बङ्गुर मरेको स्थानीय किसानले बताएका छन्।

व्यावसायिक रूपमा पालेका बङ्गुर धमाधम मर्न थालेपछि बङ्गुर खोर नै रित्तो हुन अवस्था आएको बङ्गुरपालक किसान गणेशबहादुर पुनले बताए। “केही दिनदेखि दैनिक खोरमा बङ्गुर मर्न थालेका छन्,” पुनले भने, “बिहान ठीकठाक भएका बङ्गुर साँझ मर्ने गरेका छन्, अहिले नगरपालिका, भेटेरिनरी अस्पतालमा हारगुहार गरेका छौं, उहाँहरूले परीक्षणका लागि नमूना पोखरा पठाउनुभएको छ।”

बाग्लुङ बजार क्षेत्रमा ५४ किसानले व्यावसायिक बङ्गुरपालन गर्दै आएका छन्। उनीहरूमध्ये धेरैका बङ्गुर मर्न थालेका हुन्। अहिलेसम्म दुई करोड बराबरको क्षति पुगेको बङ्गुरपालक किसान डिलमाया थापाले बताइन्। “बङ्गुरपालन गर्न थालेको वर्षौं भयो, अहिलेसम्म यस्तो थाहा थिएन। मेरै खोरमा १५ वटा बङ्गुर मरिसकेका छन्,” थापाले भनिन्, “दैनिक खोर रित्तिँदै गएपछि किसानको उठिबास लागेको छ।”

यस क्षेत्रका ५४ किसानले पालेका ३९२ वटा बङ्गुर मरेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाग्लुङलाई ध्यानाकर्षण गराएको अगुवाकर्ता एकबहादुर केसीले बताए। किसानका समस्याका लागि आफूले विभिन्न सरोकारवाला निकायसँग ध्यानाकर्षण गराइरहेको केसीको भनाइ छ।

Advertisement

Click the button below to skip this ad and read the full article.