काठमाडौँ: कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन, सामाजिक न्याय र समुन्नतिलाई सरकारले मुख्य प्राथमिकतामा राखी काम गरिरहेको बताएका छन् ।
कोशी प्रदेश सरकारको नेतृत्व गरेको १०० दिन आज पूरा गरेका अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सभाहलमा पत्रकारसँगको साक्षात्कार कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले प्रदेशको विकास र समृद्धि, अर्थतन्त्रको सवलीकरण, सेवा प्रवाहको नतिजामुखी कार्यसम्पादन र जवाफदेहिता, सामाजिक सुरक्षा र रोजगारी प्रवद्र्धन, सुशासनको प्रत्याभूति तथा समग्र प्रदेशको हितलाई संस्थागत गर्ने हेतुले प्रदेश सरकारले आफ्ना कार्यक्रम अगाडि बढाएको चर्चा गर्दै अहिलेको सरकार स्थिरता दिने र आम नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्ने अवस्थामा पुगेको कुरामा जोड दिए ।
उनले प्रदेशलाई आमनागरिकहरुले देख्नु, छुन र अनुभूति गर्नसक्ने संरचनाका रुपमा विकास गर्ने पर्ने दायित्व यो सरकारको काँधमा छ भन्दै उनले भने, “प्रदेश सरकारले जनतामा आशाको दियो जगाउने प्रयत्न गरेको छ ।”
मुख्यमन्त्री कार्कीले भने, “गुणस्तरीय सेवा प्रवाह, जनआकाङ्क्षाको सम्बोधन, पूर्वाधार विकासमा तीव्रता, सामाजिक रुपान्तरणका लागि दीर्घकालीन नीतिनिर्माण र कार्यान्वयन, पर्यटन प्रवद्र्धन र पर्यावरण संरक्षण गर्दै समाजिक, आर्थिक र सांस्कृतिक समृद्धिका साथ प्रदेशको दिगो विकास गर्ने अभियानमा प्रदेश सरकार अग्रसर रहको छ ।”
उनले प्रदेश सरकारले थोरै समयमा सडक सुशासन कायम गर्न विभिन्न ठाउँमा ट्राफिक लाइट जडान, जोगबनीदेखि उत्तर चीनसँग जोडिने किमाथाङ्का सडकको नाका सञ्चालन, प्रदेशमा छ वटा पशु कार्यालय स्थापना, आगामी पुसमा अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने तयारी, सुनसरीको सर्दुखोला पुलको उद्घाटन काम सम्पन्न गरेको छ ।