Online News Portal

सुदूरपश्चिममा गौरा एकादशी मनाइँदै

काठमाडौँ:-सुदूरपश्चिमेलीहरुको महान् पर्व गौराअन्तर्गत आज गौरा एकादशी मनाइँदैछ । हरेक बर्षको साउन शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीलाई गौरा एकादशी पर्वको रुपमा मनाउने गरिएको छ । जुन गौरा उपसना गरेर दुवधागो धारण गर्ने महिलाहरुले व्रत उपसना गर्नुपर्ने मान्यता रहेको छ ।

गौरापर्वको व्रत लिने महिलाहरुका लागि आज व्रत बसेर शिवपार्वतीको पूजा गर्ने चलन छ । गौरा एकादशीको व्रत उपासकले मात्रै गौरामा व्रत लिन पाउने मान्यता भएकाले नयाँ व्रतालुहरुले समेत आज उपासना गर्ने प्रचलन छ । गौरा एकादशीदेखि गौरा पर्व सुरुवात भएको मानिने ज्योतिष बासुदेव जोशीले जानकारी दिए ।त्यहीँ समयदेखि गौरा र महेश्वरको विवाहको सम्झानामा यस पर्व मनाउने परम्परा चल्दै आएको बासुदेवले बताए । श्रावण शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीलाई नै गौरा एकादशीको रुपमा मान्ने गरिएको छ । सन्तान प्राप्ति, सन्तान सुख, पारिवारिक शान्ति र समृद्धिका लागि गौरा पर्व मनाइने भएकाले पुत्रदा एकादशीलाई गौरा एकादशीको रुपमा मान्ने गरिएको उनले बताए ।

हरेक बर्ष भाद्र शुक्ल अथवा कृष्ण पक्षको पञ्चमी तिथीबाट गौरा पर्व सुरु हुने गर्दछ । त्यो भन्दा अगाडि साउन शुक्ल एकादशीलाई गौरा एकादशीको रुपमा व्रत बस्ने चलन रही आएको हो । भाद्र शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा र भाद्र कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रही आएको छ । यो बर्ष भाद्र कृष्ण पक्षमा गौरा परेको छ । यो बर्षको गौरा भदौ ७ गतेदेखि सुरु हुँदैछ ।