Online News Portal

सामुदायिक विद्यालयले सार्वजनिक गर्‍यो नीति तथा कार्यक्रम

काठमाडौँ: इटहरीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सामूदायिक विद्यालयमध्ये वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले पहिलोपटक वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।

आर्थिक वर्ष २०८१/८२ का लागि विद्यालयले तय गरेका कार्यक्रम पूरा गर्न सात करोड बजेट आवश्यक पर्ने नीति तथा कार्यक्रम बिहीबार इटहरीका मेयर हेमकर्ण पौडेलले सार्वजनिक गरेका हुन्।

इटहरी उपमहानगरपालिकाले अघिल्लो शैक्षिक सत्रदेखि विद्यालय सुधार अभियान चलाइरहेका बेला राष्ट्रिय माध्यमिक विद्यालयले उदाहरणीय कार्य गरेको र अरु विद्यालयले सिको गर्ने मेयर पौडेलले बताए। विद्यालयले तय गरेको वार्षिक नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकासतर्फ विद्यार्थीको चापलाई मध्यनजर गरेर छ कोठे पक्की भवन निर्माण, विद्यालयको खेलमैदान स्तरोन्नति, सिसि क्यामेरा जडान, विद्यार्थीको निम्ति थप दुईवटा बस थप गर्ने, दुईवटा शौलय थप गरिने, शुद्ध पीउने पानी (फिल्टरसहित) व्यवस्था गर्ने र स्मार्ट विद्यालय स्मार्ट शिक्षक कार्यक्रम लागू गरिने उल्लेख छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्कीद्दारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा विद्यालयको बाल उद्यान निर्माण, पार्किङको उचित व्यवस्था, विद्यार्थीको उमेर समूहअनुसार फर्निचरको व्यवस्था, छुट्टै परीक्षा शाखा, चमेना गृह व्यवस्थित गर्ने र आँपगाछी चोकमा साना स्कुल बालबालिकालाई मध्यनज गरेर आउजाउ गर्न सहजताका लागि आकाशे पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउने उल्लेख छ।