सांसद ज्ञानेन्द्र शाहीले लिक गराए हजारौँ सर्वसाधारणका फोन नम्बर र ठेगानासहित व्यक्तिगत डेटा

काठमाडौं : सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले हजारौँ व्यक्तिका वैयक्तिक जानकारी लिक गराइदिएका छन् । मङ्गलबार फेसबुकमा उनले राखेको एक पोस्टका कारण सर्वसाधारणका नाम, मोबाइल नम्बर र ठेगाना जस्ता विवरण बाहिरिएका हुन् ।
राप्रपाका प्रवक्ता र प्रमुख सचेतक समेत रहेका शाहीले कमेन्ट बक्स वा मेसेन्जरमार्फत ठेगाना र मोबाइल नम्बर पठाउन अनुरोध गरेका थिए । उनको अनुरोधपछि देश-विदेशमा रहेका नेपालीले शाहीको उक्त पोस्टमा कमेन्ट गर्दै आफ्नो सम्पर्क नम्बर र ठेगाना खुलाउन थालेका हुन् । यो समाचार तयार पार्दासम्म उक्त पोस्टमा नौ हजारभन्दा बढीले कमेन्ट गरेका छन्, जसमध्ये अधिकांश सम्पर्क नम्बर र ठेगाना रहेका छन् । साइबर सुरक्षामा रुचि राख्नेहरूको फेसबुक ग्रुपमा घनश्याम घिमिरेले सांसद शाहीको पोस्ट शेयर गर्दै लेखेका छन्, “नेपालमा डेटा पाउने यो सबैभन्दा साधारण तरिका हो ।” सोही पोस्टमा कमेन्ट गर्दै युवराज कार्कीले प्रतिनिधि सभाकै सदस्यलेले डेटालाई लापर्बाहीका रूपमा लिएकोमा दुखेसो पोखेका छन् ।