Online News Portal

सभामुखलाई राजीनामा गराएर सरकार गठन गर्नु जालझेल : राजेन्द्र लिङदेन

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सभामुखलाई राजीनामा गराएर कोशी प्रदेश सरकार गठन गर्नु जालझेल भएको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले एउटा प्रदेशको सत्ता टिकाउन र सरकार बनाउन सभामुखको राजीनामा दिनु जालझेलपूर्ण काम हुने बताएका हुन् ।
‘सरकार बनाउन उहाँहरूले सभामुखलाई राजीनामा दिन लगाउनुभयो । भोलि सरकार बनाउनका लागि एमालेले राजीनामा दिन लगाउने होला यसरी संविधानले परिकल्पना नगरेको अवस्थामा मुलुकलाई लैजानु गलत हो’, उनले भने, ‘सभामुखले राजीनामा दिएपछि उपसभामुखले राजीनामा दिनुहोला ज्येष्ठ सदस्यलाई मन्त्री बनाउने भन्दै हुनुहुन्छ एमालेले ज्येष्ठ सदस्यलाई अनुपस्थित गराउने होला । यसले मुलुक संविधानले परिकल्पना नगरेको बाटोमा जाँदैछ ।’
उनले संविधानलाई गीता, बाइबलजस्तो सच्याउनु हुँदैन भन्नेहरूले संवैधानिक जटिलतामा लगेको बताए । लिङदेनले कोशी प्रदेश सरकार गठनमा राप्रपा तत्काल कसैको पक्ष र विपक्षमा नलाग्ने बताए ।

उनले भने, ‘अहिले हामी सत्ता गठबन्धनलाई सहयोग गरेर पनि जाँदैनौ हामी अहिलेको संविधानको धाराहरूको अभ्यासमा सहभागी हुँदैनौ ।’

लिङदेनले आफूहरूको एजेण्डा संघीयताखारेजीको भएको भन्दै संघीयता पक्षधरहरू नेपाली कांग्रेस र एमाले मिलेर कोशी प्रदेश सरकार बनाउन सुझाव दिए ।

Advertisement

Click the button below to skip this ad and read the full article.