सत्ता समीकरणको तरंग

काठमाडौँ: संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच सोमबार मध्यरात सत्ता सहकार्यको सहमति भएको छ । डेढ वर्षमा तीन पटक गठबन्धन फेरेर ‘राजनीतिक हिरो’ बन्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल स्तब्ध बनेका छन् ।बहुमत जुटाएर कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमति’ को सरकार बनाउन सहमत भएकाले त्यसमा साना दल समावेश हुने अवस्था देखिँदैन । संविधान संशोधनका क्रममा २०४७ सालको संविधान ब्युँताउने, धर्मनिरपेक्षता शब्द हटाउने, संघीय शासन प्रणालीका निकाय काँटछाँट गरी छ वर्षअघि स्थापित गाउँका सिंहदरबारको संख्या न्यून बनाउनेलगायत विषयमा सहमति भएको पनि सुनिन्छ ।