काठमाडौँ: मुलुकको सबैभन्दा ठुलो व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयबाट हुने आयात खुम्चिएसँगै राजस्व सङ्कलन पनि उत्साहजनक देखिएको छैन । यो कार्यालय हुँदै चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा पाँच खर्ब ५२ अर्ब ९५ करोड रकम बराबरको वस्तु तथा सामान आयात भयो । जबकि गत वर्षको सोही अवधिमा भने छ खर्ब ४४ अर्ब छ करोड बराबरको आयात भएको थियो । चालु आवको ११ महिनामा मात्रै गत आवको सोही अवधिको तुलनामा १४ दशमलव १५ प्रतिशत अर्थात् ९२ अर्बले आयात खुम्चिएको छ ।भन्सार विभागले कार्यालयलाई चालु आवमा दुई खर्ब ४५ अर्ब ८८ करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको छ । तर कार्यालयले हालसम्म कुल लक्ष्यको ५७ दशमलव ७१ प्रतिशत राजस्वमात्रै सङ्कलन गरेको छ । सूचना अधिकारी कर्णले भन्सार विभागले दिएको राजस्व सङ्कलन गर्न दिएको लक्ष्य ६२ देखि ६५ प्रतिशतको हाराहारीमा सङ्कलन हुने दाबी गर्नुभयो ।