Online News Portal

विद्युत् प्राधिकरणको ३ वर्षे उपलब्धी सार्वजनिक

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी सम्हालेको ३ वर्ष भएको अवसरमा आफ्नो उपलब्धी सार्वजनिक गरेका छन् ।

उनले उक्त अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत् चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथा वितरण लाइन र सबस्टेसन विस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणलाई ठूलो सफलता हात परेको बताएका छन् ।

उनका अनुसार आठ वर्षअघि अर्थात आर्थिक वर्ष २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । तीन वर्षको अवधिमा भएको उपलब्धि मध्ये विद्युतीकरणमा प्राप्त उपलब्धि महत्वपूर्ण रहेको उनले बताए । तीन वर्षअघि ८९.७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको घिसिङले बताए ।

यस्तै आठ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युत्को ग्राहक सङ्ख्या हाल सामुदायिकसहित  ५९ लाख ३५ हजार पुगेको छ । बिकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको काम अगाडि बढिसकेको छ भने अब छिट्टै देश पूर्णरुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुगेको घिसिङले बताए ।

विद्युतीकरणका लागि प्राधिकरणको आफनै स्रोतबाट ठूलो लगानी गरेको पनि घिसिङले बताए ।  सुकुम्बासी बस्ती तथा चेपाङ, मुसहरलगायतका विपन्न वर्गका घरपरिवारमा विद्युत पु¥याउन निःशुल्क मिटरसमेत वितरण गरिएको बताउँदै उनले बस्तिको विद्युतीकरण मात्र हैन स्थानीय निकायहरुसँगको साझेदारीमा स्मार्ट सडक बत्ती विस्तार गरी सहर उज्यालो बनाउने कार्यमासमेत ठूलो लगानी गरिएको बताए ।