विकास समस्या समाधान समितिमा बीमा प्रणाली व्यवस्थित गर्ने एजेण्डा पेस हुने

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीमा प्रणालीलाई व्यवस्थित गर्न राष्ट्रिय विकास समस्या समाधान समितिमा एजेण्डा पेस गर्ने तयारी गरेको छ ।
शुक्रबार मन्त्रालयस्तरीय बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री प्रदिप पौडेलले बीमालाई व्यवस्थित र प्रभावकारी बनाउन नीति तथा व्यवस्थापकीय पहल आवश्यक रहेको बताए । उनले बीमा प्रणालीलाई सही ढंगले सञ्चालन गर्न बहसलाई अगाडि बढाउनुपर्ने उल्लेख गर्दै भने, “बीमाको पैसा स्वास्थ्य मन्त्रीसँगै छ भन्ने जस्तो भ्रम बनाइन्छ, तर आम्दानी नहुने अवस्था निकै जटिल बन्दै गएको छ । अहिले नयाँ नेतृत्व आएपछि परीक्षणको काम भने द्रुतगतिमा अगाडि बढेको छ ।”
मन्त्री पौडेलले बीमाको आयलाई खर्चअनुसार बढाउने, सामाजिक सुरक्षा कोष र सञ्जय कोषबाट स्वास्थ्यतर्फको रकम बीमा बोर्डमार्फत लैजाने व्यवस्था गर्ने आवश्यकता औंल्याए । उनका अनुसार सबै सरकारी स्वास्थ्य सेवाहरूलाई एकीकृत गर्दै बीमा प्रणाली सुदृढ बनाउन जरुरी छ ।
उनले २०७४ को ऐन र नियम कार्यान्वयनमा चुनौती रहेको भन्दै त्यसलाई प्रतिस्थापन गर्न नयाँ नियम ल्याउने तयारी भइरहेको जानकारी दिए । साथै, तीनै तहका सरकारले स्वास्थ्य सुविधामा गर्ने खर्च बीमा बोर्डमार्फत मात्र जाने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।
पौडेलले अन्त्यमा भने, “स्वास्थ्य बीमालाई दीर्घकालीन र पारदर्शी बनाउन थर्ड पार्टी अडिट प्रणाली विकास गर्ने विषयमा समेत छलफल भइरहेको छ ।”