काठमाडौं: चौधरी ग्रुप मातहतको सी जी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादीत सर्वाधिक लोकप्रिय वाइ वाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रूपैयाँ आज हस्तान्तरण गरेको छ । आईसिसि टि-२० विश्कपमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरुप सी जी फुड्सले गरेको घोषणा अनुसार उक्त रकम हस्तान्तरण गरिएको हो । नेपाल राष्ट्रिय टिम टी-२० विश्वकपमा सहभागी बनिरहदा खेलाडीहरूलाई प्रोत्साहन स्वरुप वाङ्ग वाइले प्रत्येक रनका लागि रू. १ हजार, प्रत्येक चौकाका लागि रू. ८ हजार, प्रत्येक छक्काका लागि रू. १२ हजार उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसैगरि प्रत्येक विकेटका लागि रू १५ हजार, प्रत्येक अर्धशतक वापत रू. ५० हजार, प्रत्येक शतक वापत रू. १ लाख र नेपाली टिमको प्रत्येक जितमा रू. १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने पनि घोषणा गरेको थियो। त्यसैगरि सुपर आठमा पुगेमा राष्ट्रिय टिमका लागि रू ३० लाख उपलब्ध गराउने वाइ वाइको घोषणा थियो ।
सोही घोषणा बमोजिम विश्वकपमा नेपाली टिमको समग्र प्रदर्शन अनुसार सम्पूर्ण रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाहरुको २ लाख १६ हजार, छक्काहरुको १ लाख ८ हजार गरि रू ९ लाख ४४ हजार भएकोमा उक्त रकममा रू ५६ हजार थप गरि हस्तान्तरण गरिएको हो । बुधबार ललितपुरको होटल भिभान्तामा आयोजित समारोहवीच सी जी फुड्सका सिइओ प्रदीप पुडासैनीले क्यानका सचिव पारश खड्कालाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो । उक्त अवसरमा बोल्दै सिइओ पुडासैनीले टी-२० विश्वकपमा सहभागि राष्ट्रिय टिममा आवद्ध खेलाडीहरूलाई नेपालको राष्ट्रिय झण्डा विश्वकपको मैदानमा फहराउन सफल भएकोमा बधाई एवं धन्यवाद दिनुभयो । ‘चौधरी ग्रुपले नेपाली क्रिकेटको फाउण्डेसन निर्माणमा योगदान गर्दै आएको छ। अहिले हाम्रो राष्ट्रिय टिम टी-२० विश्वकपमा खेल्नुलाई म ठूलो उपलब्धी मान्छु’, पुडासैनीले भन्नुभयो।