काठमाडौँ : प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधान र लोकतन्त्रलाई बचाएर लैजाने दायित्व नेपाली काँग्रेसको भएको बताउनुभएको छ ।
पूर्वराष्ट्रपति यादवले संविधानलाई अघि बढाउने र लोकतन्त्रलाई बचाउने दायित्व काँग्रेसका अगुवाहरुको भएको बताउनुभएको हो । शैलजा आचार्यको १५ औं स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले लोकतन्त्रमाथि विश्वभर खतरा भएकाले त्यसलाई जोगाउने काममा लाग्नुपर्ने बताउनु भयो । काँग्रेस विपी विचारमा अडिएको उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले त्यसैको अनुशरण गर्दै हिँड्नुभएकी शैलजा आचार्यको योगदानको पनि उच्च मूल्यांकन गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘काँग्रेसको सिद्धान्त नै विपीको विचारमा अडेको छ । गणेशमानजीले २०४६ सालको जनआन्दोलनको नेतृत्व गर्नु भयो । गिरिजाप्रसाद नभएको भए यो अवस्था आज मुलुकमा आउने थिएन होला । आज कमसेकम शान्ति छ, अमनचैन छ । एउटा संविधान छ । यो संविधानलाई तपाई काँग्रेसका अगुवाहरुले कसरी अघि बढाउने । यसमा सबै थोक इमिमेन्टहरु छ । तर यसलाई बचाएर लग्ने र देशलाई कसरी अघि बढाउने ? आज भारतमा अहिले चुनाव भएको छ । अहिले आधा संसार चुनावमा छ । र डेमोक्रेसीमाथि संसारमा नै खतरा छ । तर भारतमा धेरै उत्तरचढावकाबीच भएको चुनावले धेरै म्यासेस दिएको छ । मैले अहिले त्यो कुरा कोट्याउन चाहन्न । तर हामी चाँही अहिले पनि लोकतन्त्रलाई पूर्ण रुपले आत्मासात गर्न नसक्ने पोलिटिकल पार्टीहरु तपाईको अगाडिपछाडि छन् । तपाईको जमातमा छन । ’
प्रथम राष्ट्रपति यादवले नेपालमा अझै पनि लोकतन्त्रलाई पूर्णरुपमा आत्मासात गर्न नसक्ने राजनीतिक पार्टीहरु रहेको बताउनु भयो ।