काठमाडौँ: सोमबार साँझ केही युवा लेखनाथ रङ्गशालामा फुटबल खेलिरहेका थिए। खेलाडीले प्रहार गरेको बल घरी घाँसभित्र घरी हिलोमा पुग्थ्यो। यद्यपि उनीहरू उत्साहका साथ खेलिरहेका थिए। मैदानको छेउमा किशोरहरू पनि फुटबल अभ्यासमा रमाइरहेका थिए। आठ वर्षअघि निर्माण सुरू भएको बहुउद्देशीय कभर्ड हल बीचमै अलपत्र परेपछि ‘इन्डोर’ खेलको पनि चौरमै प्रशिक्षण गराउनुपर्ने बाध्यता छ। पोखरा महानगरपालिका– २९ स्थित यो रङ्गशालामा पूर्वाधार नहुँदा व्यवस्थित ढङ्गले खेल गतिविधि सञ्चालन गर्न कठिन भएको छ। पोखरा रङ्गशालाको विकल्प मानिएको लेखनाथ रङ्गशालामा भौतिक पूर्वाधार बनाउनुपर्नेमा स्थानीय खेलाडीले जोड दिएका छन्।
आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङले रङ्गशालामा बनेका संरचना अलपत्र परेकामा दुखेसो गरे। रङ्गशालाको ट्रयाक मापदण्डअनुसारको नभएको उनले बताए। प्यारापिट पनि लथालिङ्ग छ। ‘अहिले ठूला खेल प्रतियोगिता सञ्चालन गर्न सकिने अवस्था छैन’, उनले भने, ‘सामान्य खेल अभ्यासका लागि पनि पूर्वाधार अभाव छ।’
पोखरा महानगरको खेलकुद विकास समितिका पदाधिकारी बजेट अभावले रङ्गशाला बन्न नसकेको बताउँछन्। आठ वर्षअघि रङ्गशालाभित्र निर्माण थालिएको बहुउद्देश्यीय कभर्ड हल पनि बजेट नहुँदा अलपत्र परेको छ।
बजेट नहुँदा कभर्ड हल निर्माण तीन वर्षदेखि ठप्प छ। हालसम्म त्यसमा रु एक करोड १० लाख खर्च भइसकेको छ। आव २०७४ र २०७५ मा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट रु ११ लाख बजेटबाट कभर्ड हलको काम सुरु भएको थियो।
हिउँदमा केही चहलपहल हुने पोखरा–२९ स्थित सो रङ्गशाला बर्खायाममा भने सुनसान देखिन्छ । प्रातकालीन हिँडडुल र व्यायामका लागि पुगेका मानिस मात्र फाटफुट भेटिन्छन् । खेलकुद गतिविधि त शून्य प्रायः हुन्छ । वषौँसम्म रङ्गशालाको मुहार फेरिन सकेको छैन । स्थानीय आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङले पोखरापछिको ठूलो रङ्गशाला भएर पनि पूर्वाधारमा पछाडि परेको बताए ।
“फुटबल मैदान पनि स्तरीय छैन, रनिङ ट्रयाक मापदण्डमा छैन”, उनले भने, “बनेका संरचना पनि लथालिङ्ग छन्, ठूलो लगानी नगरेसम्म रङ्गशालाले वास्तविक स्वरुप पाउने अवस्था छैन् ।” डेढदुई सय दर्शक अट्ने प्यारापिटले पनि संरक्षण पाउन सकेको छैन । क्लबले २४औँ संस्करणसम्मको ‘आदर्श कप फुटबल’ सोही मैदानमा आयोजना गरेको अध्यक्ष गुरुङले बताए ।