Online News Portal

रास्वपाको हस्ताक्षर अभियानमा सहभागी ट्राफिक सई कमल खड्का प्रहरी हेडक्वार्टर तानिए

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हस्ताक्षर अभियानमा प्रहरी बर्दीसहित सहभागी भएका ट्राफिक प्रहरी नायव निरीक्षक (सई) कमल खड्कालाई प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) तानिएको छ।

सई खड्का बाँकेको नेपालगन्जस्थित ट्राफिक प्रहरी पोष्टमा कार्यरत थिए। उनी रास्वपाको “प्रतिशोधविरुद्ध देशव्यापी हस्ताक्षर अभियान”मा सहभागी भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले उनलाई छानबिनका लागि हेडक्वार्टर बोलाएको हो।

रास्वपाले असार ७ गते स्थापना दिवसका अवसरमा काठमाडौं उपत्यकाबाट देशव्यापी हस्ताक्षर अभियान सुरु गरेको थियो। सो अभियानमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, कलाकार विपिन कार्की, रमेश उप्रेतीलगायतले हस्ताक्षर गरेका छन्। रास्वपाले आफ्ना अध्यक्ष रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध स्वरूप मुद्दा लगाइएको दाबी गर्दै देशभर अभियान चलाएको छ।

सई खड्काले नेपाल प्रहरीको बर्दीमै नेपालगन्जमा हस्ताक्षर गरेको भिडियो भाइरल बनेपछि प्रहरी संगठनभित्र आन्तरिक आलोचना बढेको छ। प्रहरी स्रोतका अनुसार उनी प्रहरी संगठनभित्र सधैं प्रभाव र पहुँचका भरमा आफूखुसी पोस्टिङ खोज्ने प्रवृत्तिका व्यक्ति हुन्।

प्रहरी प्रधान कार्यालयका अनुसार खड्काले राजनीतिक दलको कार्यक्रममा प्रहरी बर्दीसहित सहभागिता जनाउनु प्रहरी आचारसंहिताविपरीत भएको भन्दै विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ। एक वरिष्ठ प्रहरी अधिकृतले भने, “रास्वपाको अभियानमा सहभागी भएको प्रमाण छ। प्रहरी कुनै पनि राजनीतिक अभियानमा कार्यकर्ताजस्तो उपस्थित हुन मिल्दैन। त्यसैले उनलाई विभागीय कारबाही हुनेछ।”

रास्वपाको हस्ताक्षर अभियान ९० दिनसम्म सञ्चालन हुने घोषणा गरिएको छ। पार्टी अध्यक्ष रवि लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही कारागारमा छन्। उच्च अदालत र सर्वोच्च अदालत दुबैबाट थुनामा पठाउने आदेशपछि रास्वपाले अदालतप्रति अविश्वास जनाउँदै अभियान चलाएको हो।

Advertisement

Click the button below to skip this ad and read the full article.