Online News Portal

राष्ट्रिय दायित्व पूरा गर्न उद्योगमा लगानी वृद्धि आवश्यकः उद्योगमन्त्री भण्डारी

काठमाडौँ: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको राष्ट्रिय दायित्वलाई पूरा गर्न उद्योगमा लगानी वृद्धि गरी सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्नुहुँदै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।

उहाँले रोजगारी सिर्जना गरी विदेश पलायन हुने युवा जनशक्ति रोक्नका लागि उद्योग सञ्चालन गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले मुलुमा उद्योगमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गरेर युवाहरुलाई स्वदेश फर्काउन सकिने बताउनुभयो । उहाँले उद्योग मन्त्रालय नीतिगत रुपमा अहिले पनि ओझेलमा परेको जिकिर गर्नुभयो ।

मन्त्री भण्डारीले उद्योग तथा आपूर्ति मन्त्रालयले माग गरे अनुसारको नीतिगत व्यवस्था अझै पनि प्राप्त गर्न नसकेको बताउनुभयो । उहाँले मन्त्रालयले नीतिगत सुधारका पक्षहरुलाई विशेष महत्त्वका साथ सुधारका पक्षमा काम गरिरहेको बताउनुभयो । उहाँले लगानी सम्मेलनपछि लगानी सहजिकरणका लागि आवश्यक ऐन संशोधनले सबैभन्दा बढी प्रभाव सेजमा देखिएको बताउनुभयो । उहाँले सेजलाई मर्ज गर्नुपर्छ भन्ने ठाउँमा पुगेको सरकार अहिले सेजका उद्योगहरु सञ्चालन हुने ठाउँमा पुगेको बताउनुभयो ।