Online News Portal

रसुवाको बाढीबारे छलफल गर्न गृह मन्त्रालयमा आकस्मिक बैठक बस्दै

काठमाडौं:  रसुवामा आएको विनाशकारी बाढीका कारण उत्पन्न संकटबारे छलफल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बस्ने भएको छ। बैठक आज (मंगलबार) दिउँसो १ बजे गृहमन्त्रालयमा बस्ने तय भएको हो।

गृह मन्त्रालयका अनुसार बैठकमा बाढीले पुर्‍याएको क्षति, खोज तथा उद्धारको प्रगति, राहत वितरण र पुनर्निर्माणसम्बन्धी योजनामाथि छलफल गरिनेछ। बैठकमा केन्द्रीय सुरक्षा समितिका सदस्यहरू पनि सहभागी हुनेछन्।

मंगलबार बिहान रसुवाको भोटेकोशीमा बाढी आउँदा १६ जना बेपत्ता भएका छन् भने ९ जनाको सफल उद्धार गरिएको रसुवा प्रहरीले जानकारी दिएको छ। भारी वर्षापछि आएको बाढीले नेपाल–चीन सीमा क्षेत्रमा रहेको मितेरी पुल समेत बगाएको छ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीका अनुसार बेपत्ताहरूमा तीनजना नेपाल प्रहरी, तीनजना सवारी चालक, ६ जना नेपाली मजदुर र ४ जना चिनियाँ कामदार छन्। रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुशल उद्धार गरिएको अधिकारीले जानकारी दिए।

बाढीका कारण रसुवागढी जलविद्युत् आयोजना, चार्जिङ स्टेसन, भन्सार यार्डमा रहेका कन्टेनर र विद्युतीय सवारीसाधनमा पनि ठूलो क्षति पुगेको छ। स्थिति गम्भीर रहेकाले उद्धार, राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सरकारले उच्चस्तरीय समन्वय गरिरहेको जनाएको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.