Online News Portal

रवि लामिछाने थप पाँच दिन थुनामा

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित पाँच जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गरिने भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनीहरूलाई बिहीबारदेखि लागू हुने गरी पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।

गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल, र कृष्णबहादुर गुरुङविरुद्ध पनि पाँच दिन म्याद थप भएको हो । प्रहरीले कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी लामिछानेलाई पोखरा ल्याएको थियो । उहाँ विरुद्ध यसअघि छ पटक म्याद थप गरी सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान जारी छ ।

 

 

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ पर्नुभएका लामिछानेको मानवअधिकार र स्वास्थ्यबारे सार्वजनिक रूपमा चर्चा भएकोतर्फ सङ्केत गर्दै अदालतले मानवअधिकार उल्लङ्घन हुने गतिविधि नगर्न, नगराउनसमेत भनेको छ ।

अनुसन्धान करिब सकिएकाले चाँडै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने प्रहरीको तयारी छ । सरकारी वकिल कार्यालयमार्फत् मुद्दा दायर भएपछि अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छाड्ने वा साधारण तारिखमा छाड्नेमध्ये एक आदेश आउनेछ ।

कास्की अदालते उहाँलाई धरौटी वा साधारण तारिखमा छाड्ने आदेश दिए पनि अन्यत्रका चार सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएकाले प्रहरीले उहाँलाई हिरासतमै राख्नेछ । पाँच वटै ठाउँमा लामिछानेको बयान सकिएकाले पुर्पक्षमा राख्ने वा नराख्ने वा हिरासतमा राख्ने वा नराख्ने भन्ने निर्णय पनि अदालतको आदेशमै निर्भर हुनेछ ।

गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशकसमेत रहनुभएका लामिछाने समेतले पोखराको सूर्यदर्शन सहकारीको रकम अवैधानिक रूपमा अपचलन गरेको आरोप छ । लामिछानेविरुद्ध रुपन्देही, काठमाडौँ, चितवन र पर्साबाट पनि पक्राउ पुर्जी जारी भइसकेको छ । लामिछाने प्रबन्ध निर्देशक रहेकै बेला गोरखा मिडिया नेटवर्कले सूर्यदर्शन सहकारीसहित अरू सहकारीबाट ६५ करोड अवैधानिक रूपमा लगेर ठगी गरेको आरोप छ । सूर्यदर्शनमा एक अर्ब ३५ करोड हिनामिना भएको देखिएको छ ।