Online News Portal

माटोको सुगन्ध दिने कविता1

काठमाडौँ:कवि मिथोचले आफ्नै आँगनको कविता लेखेका छन्। उनले आफ्नै माटोको कथा भनेका छन्।

मिथोच पहिलो कविता संग्रहबाटै परिपक्क कवि लाग्छन्। भलै उत्कृष्टताको कसीमा उनको उपस्थितिको अर्कै लेखाजोखा होला तर उनका कविताले नयाँ विचार र चेतनाको माइक्रोज्म निर्माण गर्ने कुरामा भने दुई मत नरहँला। उनको कविता बुन्ने शैली गज्जबको छ। थारखरीको लहरामा फनफनी बेरेर ‘प्लेकाअस’ बुनेजस्तै।

सिस्नुको डुकु टिपेर कराहीमा उसिन्दै मालिंगोको फिर्किनीले फिरिरी बेलेजस्तै। सायद त्यो शैली उनले आफ्नै सांस्कृतिक अवयवबाट निर्माण गरेका हुन्।कवितामा उनी एउटा परिवेश निर्माण गर्छन् र त्यसैको माध्यमबाट आफ्नो कुरा भन्छन्। ती परिवेश विराट क्यानभासजस्तो लाग्छ, जहाँ विचार र कलाको रंगहरूको उत्कृष्ट संयोजन पाइन्छ। मिथोचको कविताहरू भद्दा छैनन्। सरल र सुललित छन्। उनको सबल पक्ष भनेको विषयवस्तुको चयन हो। अरूले नलेखेका मसिनो लाग्ने विषयहरूलाई नयाँ आयामबाट प्रस्तुत गरेर त्यसमा दार्शनिक दृष्टि भर्न सक्नु उनको खुबी हो। उनको कविताहरूको भाषा मीठो छ। शिल्प आफ्नै किसिमको छ। उनका प्रायः कविता एकै बसाइमा पढिसकिन्छ।