काठमाडौँ: जनता समाजवादी पार्टीकि सांसद रञ्जुकुमारी झाले मन्त्रीहरुलाई खल्तीमा राजीनामा लिएर नहिड्न आग्रह गर्नुभएको छ ।
मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले मन्त्रीले खल्तीमा राजीनामा लिएर हिँडेको अभिव्यक्ति दिएको सुनेर आफूलाई दुःख लागेको बताउनुभएको हो । उहाँले मन्त्रीले खल्तीमा राजीनामा लिएर हिँड्नु राम्रो नभएको बताउनु भयो । उहाँले मन्त्री भएर राम्रो काम गर्न नसके राजीनामा दिएर निस्कन आग्रह पनि गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘गृहमन्त्रीलाई अस्ति एनजिओको खाजा खानुभएन त्यसको लागि म धन्यवाद दिन चाहन्छु । र गृहमन्त्रीले सय दिनको समिक्षा गर्नुभयो, त्यसमा के भन्नुभयो भने राम्रो काम गरेको छैन भने केही नराम्रो कामपनि गरेको छैन । त्यसको लागि पनि म धन्यवाद दिन चाहन्छु । कुनै मन्त्रीले खल्तीमा राजीनामा लिएर हिँडेको सुनेर मलाई दुःख लाग्यो । त्यो राम्रो कुरा होइन । यदि हामी मन्त्रिपरिषद्मा छौँ भने राजीनामा लिएर नहिँडौँ । मन्त्री भएर बसौँ । राम्रो काम गरौँ । काम राम्रो गर्नुछैन भने राजीनामा दिएर निस्कौँ । खल्तीमा लिएर नहिँडौँ । कोही मन्त्री होस् । कुनै पार्टीको मन्त्री होस् ।’
उहाँले राजदुतको पदलाई राजनीतिक भागबण्डा गर्नु नहुने बताउनु भयो । उहाँले उपराष्ट्रपतिको पदलाई राष्ट्रिय सभा अध्यक्षको जिम्मेवारीमा ल्याउन संविधान संशोधन गर्नुपर्ने बताउनु भयो ।