Online News Portal

भायानेट र कर्पोरेट क्रिकेट : खेलकुदमार्फत व्यवसायिक सम्बन्ध सुदृढ गर्ने प्रयास

काठमाडौँ :  इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले दोस्रो कर्पोरेट क्रिकेट लिग २०८२ को मुख्य प्रायोजन गर्ने घोषणा गरेको छ। आगामी भदौ १३ देखि १६ गतेसम्म बूढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्क, चुनिखेलमा आयोजना हुने यो प्रतियोगिताले बैंक, बीमा, वित्तीय संस्था, उत्पादन क्षेत्र र सूचना प्रविधि क्षेत्रमा कार्यरत कर्मचारीलाई एउटै मैदानमा उतार्नेछ।

भेट्रान्स फोर्टी क्लबको आयोजनामा हुने यस लिगमा २० वटा कर्पोरेट टोली प्रतिस्पर्धामा उत्रिनेछन्। सहभागी टोलीमध्ये सानिमा जीआईसी इन्स्योरेन्स, नेपाल एसबिआई बैंक, जगदम्बा मोटर्स, प्राइम बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक जस्ता संस्थाहरू समावेश छन्। यी संस्था आफ्नो-आफ्नो क्षेत्रका दिग्गज मात्र नभई अब खेल मैदानमा पनि आफ्नो क्षमता देखाउने तयारीमा छन्।

यो पहलले कर्पोरेट पेशेवरहरूलाई नियमित कार्यालयीन कामको दवावबाट केही समय टाढा राख्दै सहकर्मीबीच आपसी सम्बन्ध बलियो बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

भायानेट लामो समयदेखि घरायसी इन्टरनेट सेवामा लोकप्रिय रहँदै आएको भए पनि पछिल्लो समय कर्पोरेट बजारतर्फ आफ्नो उपस्थितिलाई विस्तार गर्नेतर्फ सक्रिय देखिएको छ।

कम्पनीका कमर्सियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठका अनुसार, भायानेट अहिले केवल इन्टरनेट सेवामा सीमित छैन।
उनका शब्दमा,

“हामी ‘बियोन्ड कनेक्टिभिटी’ दृष्टिकोणसहित आईटी सोलुसन प्रदान गर्दै आएका छौँ। यो क्रिकेट लिगमार्फत हामी आफ्ना साझेदारहरूसँग अझ नजिक हुने अपेक्षा राखेका छौँ।”

उनका अनुसार, खेलकुदले व्यापारिक सम्बन्धलाई मजबुत बनाउन र सहकार्यलाई दीर्घकालीन बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ।

भायानेटले अहिले होटल, बैंक तथा वित्तीय संस्था, उद्योग र शैक्षिक संस्थाहरूलाई इन्टरनेट सेवा मात्र होइन, विभिन्न आईटी समाधान पनि उपलब्ध गराउँदै आएको छ। यसरी कम्पनीले आफ्नो व्यवसायलाई बहुआयामिक बनाउन थालेको छ, जसले ग्राहकलाई इन्टरनेट कनेक्टिभिटी भन्दा परको अनुभव दिने गरेको छ।

भायानेटको यो कदम केवल एउटा खेलकुद प्रायोजन मात्र होइन, व्यावसायिक जगतसँग आपसी विश्वास र साझेदारीलाई मजबुत बनाउन गरिएको दीर्घकालीन लगानी पनि हो। कर्पोरेट क्रिकेट लिगले जहाँ कम्पनीहरूबीचको प्रतिस्पर्धा देखिन्छ, त्यहीँ सम्बन्ध, सहकार्य र साझेदारीको नयाँ अध्याय पनि सुरु हुने अपेक्षा गरिएको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.