Online News Portal

भक्तपुर क्यान्सर अस्पताल सरकारलाई हस्तान्तरण

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगको उपचार नेपालमै सर्वसुलभ बनाउन सरकारले तयारी गरिरहेको बताएका छन् । काभ्रेको बनेपामा आयोजित नेपाल अर्बुद रोग निवारण संस्थाको ३४ औँ केन्द्रीयसभामा मन्त्री पौडेलले क्यान्सर रोगविरुद्ध जनचेतना फैलाइ प्रतिकारात्मक कार्यबाट क्यान्सर रोग न्युनीकरण गर्न सकिने बताए ।

 

 

पौडेलले देशभित्रै उपचार सर्वसुलभ बनाउन नीतिगत निर्णयहरू गरेर व्यावहारिक बनाउने प्रयास भइरहेको बताए । केन्द्रीय सभामा नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा तीन दशकअघि स्थापीत नेपालकै पहिलो भक्तपुर क्यान्सर अस्पताल स्वास्थ्यमन्त्री पौडेलमार्फत नेपाल सरकारलाई आधिकारिक रूपमा हस्तान्तरण गरिएको थियो ।

सरकार र संस्थाबीच भएको द्विपक्षीय समझदारीपत्र अनुसार सो अस्पताल भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठानादेश, २०७७ बमोजिम सञ्चालन हुनेछ ।

नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष महेश श्रेष्ठले यसअघि भक्तपुर क्यान्सर अस्पताल सम्बन्धमा नेपाल सरकार र नेपाल अर्बुद रोग निवारण संस्थाबीच विवाद रहेकोमा दुई पक्षबीच भएको समझदारीले नेपालमा क्यान्सर रोगको प्रतिकारात्मक र उपचार नयाँ चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरे ।