Online News Portal

बुढीगंगा नगरपालिकाको एक वर्षे उपलब्धी

बाजुरा : जिल्लाको बुढीगंगा नगरपालिकाका जनप्रतिनिधीले आफ्नो एकवर्षे कार्यकालमा गरेका कामको प्रगती समीक्षा गरेको छ ।निर्वाचित भएपछि पदभार ग्रहण गरेको एक वर्ष पुरा भएको अवसरमा पालिकाले वार्षिक प्रगती सार्वजनिक तथा समीक्षा गरेको हो ।वैशाख ३० गते भएको पहिलो चरणको निर्वाचन रद्द भएपछि असारमा दोस्रो चरणको निर्वाचन गरिएको थियो ।
दोस्रो चरणको निर्वाचनपछि असार २६ गते जनप्रतिनिधीले सपथ सहीत पदभार ग्रहण गरेका थिए । वर्षगाँठको अवसरमा दर्जन बढी राम्रो काम गर्ने कर्मचारी, कृषक व्यवसायी र विद्यार्थीलाई सम्मान गरेको छ । नगर प्रमुख उपप्रमुखले आफ्नो पारिश्रमीकको ५ प्रतिशत रकम छुट्याएर १ दर्जन बढी विद्यार्थीलाई सहयोग गरेका छन् ।

पालिकाले स्थापना गरेको शेरबहादुर शाह समाजसेवा सम्मान पुरस्कारबाट प्रकाश सिंह, रत्नाखर जैशी साहित्य सम्मानबाट जहरसिंह थापा, चेतनदीप अयडी सफल उद्यमकी सम्मानबाट भोला जैशीलाई सम्मान गरेको छ । नरसिंह गिरी शैक्षिक सम्मानबाट कृष्णबहादुर सिंहलाई यस अघि नै सम्माान गरिएको छ । यस्तै समयमै काम सम्पन्न गर्ने सफल निर्माण व्यवसायी अंगबहादुर ओलीलाई पनि पुरस्कार सहीत सम्मान गरेको छ ।

एक वर्षसम्म गरेका काम र कामको उपलब्धी विवरणलाई नगर प्रमुख रामबहादुर बानीयाँले प्रस्तुत गरेका थिए । बुढीगंगाले सुरुको वर्षलाई नीति निर्माण र पूर्वाधार विकासको आधार तय गर्ने वर्षका रुपमा घोषणा गरेको थियो । बितेको एक वर्षमा उदेश्य अनुसारको काम र प्रतिफल देखाउन पालिका सफल भएको नगरप्रमुख रामबहादुर बानीयाँले बताएका छन् ।

पालिकालाई आवश्यक तीन दर्जन बढी ऐन कानुन र नीति नियम निर्माण गरिएको र बुढीगंगाको विकासका आधारहरु र क्षेत्रहरुको पहिचान गर्न पालिका सफल भएको नगर प्रमुख रामबहादुर बानीयाँले दाबी गरेका छन् । पालिकाले प्रत्येक टोल र बस्ती पुग्ने सडक, खानेपानी, विद्यालय संरचना, सिँचाई कुलो, पर्यटकीय गन्तव्यको पहिचान र खेल मैदानको निर्माण प्रारम्भ सहीतका कामको थालनी गरिसकेको छ ।

प्रदेश र संघ सरकारसँगको सहकार्यमा गर्ने गरि पालिकाकै बजेटमा साविक गाविसका केन्द्र जोड्ने सडक कालोपत्रेको लागि बजेट विनियोजन, भानुदय, त्रिशक्ती र पशुपतिलाई नमुना मावि, ५ र ८ को पालिका स्तरीय परीक्षा, प्रअलाई करार सम्झौता लगायतका कामलाई उपलब्धीको रुपमा लिएको छ ।

१९ करोड अघिल्लो कार्यकालको बेरुजु २ करोड घटाउन सफल भएको, ७ नम्बर बाहेक सबै वडा कार्यालयका भवन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको, पालिकाको भवन निर्माण सकिएको, स्वास्थ्य संस्थाको सुधार र स्वास्थ्य कर्मीको जनशक्ति विकासमा विशेष योगदान पुर्याएको पालिकाले उपलब्धीमा देखाएको छ ।

वडाको माग र स्थानीयको आवश्यकतालाई मध्येनजर गरेर मात्र योजना छनोट गर्ने नीतिगत व्यवस्था गरिएको, एम्बुलेन्स सेवालाई सहज र निशुल्क बनाउने गरि काम अघि बढेको, मानवीय जनशक्ति र उत्पादन बढाउने बुढीगंगाको नीतिलाई कार्यान्वयन गर्न सिप विकास केन्द्र सञ्चालन गरि यसैवर्षबाट सिप हस्तान्त्रणका कार्यक्रम अघि बढाउने गरि काम सुरु गरेको नगर प्रमुख माया कँुवरले बताएकी छन् । वित्तिय प्रगति पनि सन्तोष जनक रहेको दाबी गरेको छ ।

पालिकाले नीति तथा कार्यक्रम सार्वजनिक, बजेट निर्माण, योजना छनोट र प्रगति समीक्षा सबैको सहभागिता र सहकार्यमा गर्ने अभ्यास थालनी गरेको छ । विकासको बाटो बनाउन बुढीगंगाले सबैसँग सहकार्य गरेको प्रति अधिकांश सन्तुष्टी देखिन्छन् । हरेक वर्ष वार्षिक उत्सव मनाउने र बार्षिक प्रगति सार्वजनिक गर्ने नीति पालिकाले लिएको छ ।

बुढीगंगा नगरपालिकाले अन्य पालिकाको भन्दा फरक अभ्यास र विकासमा सबैको सहभागिता गराएर नमुना कामको थालनी गरेको पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्कबहादुर मल्लले बताएका छन् । प्रतिपक्ष भएर पनि निर्णालय काम र कार्यमा सहभागि गराएर सबैलाई समेट्न प्रयास गरेकोमा नेपाली काँग्रेसका नगर सभापति जयराज जैशीले धन्यवाद दिएका छन् ।

विष्णुप्रसाद जैशीले सञ्चालन गरेको कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य हिक्मत थापाले रामबहादुर बानीयाँ नेतृत्वको टिमले एक वर्षको अवधीमै नयाँ र केही आशलाग्दो काम र अभ्यासको थालनी गरेको बताएका छन् । सबैलाई चित्त बुझाउने र सबैलाईसँगै लैजान चाहेर पनि संभव हुदैन्, जति गरेको छ, धेरै राम्रो र अरुका लागि सिक्न लायक काम गरेकोमा थापाले धन्यवाद दिएका छन् ।