Online News Portal

बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा नगर्न राप्रपा प्रमुख सचेतक शाहीको चेतावनी

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरिएमा कर्णालीमा क्षेत्रिय दल बन्ने चेतावनी दिनुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक शाहीले आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरिएको बताउनुभएको हो । उहाँले कर्णाली प्रदेशलाई बजेटमा उपेक्षा गरिएमा कर्णाली प्रदेशमा क्षेत्रिय दल बन्नसक्ने चेतावनी दिनुभयो । उहाँले सिङ्गो कर्णाली प्रदेशमा धनुषा र झापा जिल्लाको भन्दा कम बजेट गएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेपालको मन्त्री हो कि धनुषा र झापाको मात्रै मन्त्री हो ? भनि प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘भौतिक मन्त्री नेपालको हो कि धनुषाको मन्त्री हो ? म आज सभामुखलाई भन्न चाहान्छु, यो भाषा कर्णालीको हो । यो भाषा संसदमा नबोल्नुस् । संसदमा कर्णालीलाई अपमान गर्नुहुन्छ भने तपाईहरुले आफ्नो भाषा निर्माण गर्नुस् । यो जुम्लाको सिँजा, कर्णालीबाट आएको भाषा हो । याद दिलाउन चाहान्छु, २०५६ सालमा कर्णालीका ५ जिल्ला एमालेका लालकिल्ला थियो । २०६४ सालमा माओवादीको किल्ला भएको कर्णाली जब राज्यसत्ताले कर्णालीले आज प्रचण्डलाई प्रचण्ड बनाएको हो । कर्णालीको गल्ली गल्लीमा जनताले रगत बगाएर आज माओवादीका साथीहरु यहाँ मन्त्री बन्नुभएको हो । तर आज तिनै माओवादीका अध्यक्ष प्रधानमन्त्री भइरहँदा, केपी ओली सत्तापक्ष दलको संसदीय दलको नेता भइरहँदा कर्णालीलाई बजेट उपेक्षित गरिन्छ भने यहाँ कुनै पार्टी रहेन । कुनै दल रहेन । अब यही अवस्था यदि सिर्जित हुन्छ भने कर्णालीमा आफ्नो क्षेत्रिय दल बन्न सक्छ ।’
उहाँले कर्णाली प्रदेशलाई अपमान गर्ने भए कर्णाली प्रदेशको सिंजाबाट आएको नेपाली भाषा नबोलि आफ्नै भाषा निर्माण गर्न पनि उहाँले चेतावनी दिनुभयो ।

Advertisement

Click the button below to skip this ad and read the full article.