Online News Portal

प्राज्ञिक सम्मेलन – २०८१ ले जारी गरेको ११ बुँदे घोषणापत्रमा के छ ?

काठमाडौँ :  नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाटय प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा आयोजित प्राज्ञिक सम्मेलन–२०८१ सम्पन्न भएको छ। प्रज्ञा-प्रतिष्ठानका संरक्षक एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्री बद्रीप्रसाद पाण्डेले दीप प्रज्ज्वलन गरेर सुरु भएको उक्त सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

उक्त सम्मेलनलाई दुई सत्रमा विभक्त गरिएको थियो । मन्त्री पाण्डेले सम्मेलनलाई सम्बोध गर्दै प्रज्ञा–प्रतिष्ठानहरू ज्ञानको थलो भएकाले आआफ्ना ठाउँबाट विधागत रूपमा सबैले योगदान पुर्याउनुपर्ने बताए ।

साथै, उनले व्यावसायिक रूपमा कर्मचारीहरूले सतत् राष्ट्रसेवा गरेका छन् कि छैन, यसको समीक्षा हुनुपर्नेसमेत बताए । राजनीतिभन्दा माथि उठेर प्रज्ञा–प्रतिष्ठानहरूले खोजअनुसन्धान गर्दै प्राज्ञिक सांस्कृतिक क्षेत्रको विकासका लागि ज्ञानचक्षुका साथ अघि बढ्नुपर्ने मन्त्री पाण्डेको भनाई थियो ।

उनले हाम्रो भूगोल हार्डवेयर भए जस्तै भाषा, साहित्य, संस्कृति, कला, दर्शन र ज्ञानविज्ञान सफ्टवेयर हो। मन्त्री पाण्डेले भने, “सफ्टवेयरको पक्ष बलियो भएन भने निर्जीव वा स्थुल जस्तै हुन्छ । त्यसकारण ‘ज्ञान खोज्न प्रज्ञा–प्रतिष्ठान जाऔँ । भन्ने भावना जागृत हुने गरी काम गर्नपर्छ ।”

साथै उनले तीनओटै प्रज्ञा–प्रतिष्ठानका समस्याको समाधानमा आफू लागिपर्ने बताए । यसैगरी, नेपाल प्रज्ञा(प्रतिष्ठानका कुलपति भूपाल राईले धन्यवादज्ञापन सहित समापनका क्रममा संस्कृति भनेको चिन्तन प्रणाली तथा सफ्टवयर भएको बताए ।

उनले भने, “संस्कृति जति बलियो हुन्छ, समाज त्यति नै गतिशील हुन्छ । तसर्थ कुनै पनि प्रतिगमनविरुद्ध गणतान्त्रिक प्राज्ञिक संस्कृतिलाई दह्रोसँग स्थापित गर्नुपर्नेमा जोड दिँदै विद्यमान मर्यादाक्रमको तोडफोड गर्नु न्यायोचित हुँदै ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले समसामयिक भावधारासहितको प्राज्ञिक संस्कृति ,प्रतिष्ठानबिचको आपसी सहकार्य र सद्भाव कायम गर्दै मर्यादाक्रम तोकिनु हुनुपर्नेमा जोड दिए ।

सम्मिलनमा नेपाल प्रज्ञा(प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा)ले प्रादेशिक, पालिका र वडासम्मै प्रज्ञा–प्रतिष्ठान गठन भइरहेको बताए । उनले भने, “प्रज्ञा(प्रतिष्ठान र सङ्घीय वा केन्द्रीय प्रज्ञा–प्रतिष्ठानबिचको भिन्नता प्रष्ट हुनुपर्छ । केन्द्रीय प्रज्ञा–प्रतिष्ठानकै नाम र पदको पुनरावृत्ति गरेको देखिन्छ ।”

नेपाल सङ्गीत तथा नाटय प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राईले संस्कृति मानवजातिको ढुकढुकी भएको बताए । यसमा आएको विकृति र विसङ्गतिले समाजलाई लथालिङ्ग पार्ने भय रहेको उनको भनाइ छ ।

समयमा नै यसको नियमन र नियन्त्रण गर्ने अधिकार प्रज्ञा–प्रतिष्ठानहरूमा निहित हुनुपर्ने उनले बताए । साथै लेखन, गायन, नृत्य र अभिनयमा देखिएको विकृतिलाई यथाशीघ्र नियमन गरिनुपर्नेमा उनले जोड दिए।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले तीनवटै प्रज्ञा-प्रतिष्ठानबिच सहअस्तित्व र सहकार्यबारे धारणा राख्दै हाम्रो मौलिक संस्कृतिमाथि भएको अतिक्रमणविरुद्ध एकजुट भएर लाग्नुपर्ने बताए ।