प्रधानमन्त्रीओलीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई, भारत भ्रमणको निम्तो

काठमाडौँ:नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन् ।
मोदीले हिजो राति १०ः३० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिँदै भारत भ्रमणको निम्तोसमेत दिएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
उनका अनुसार भारतीय प्रधानमन्त्री मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएका थिए ।
टेलिफोन कुराकानीमा मोदीलाई प्रधानमन्त्री ओलीले आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको बताएको र भारतसँगको मित्रता अझै सुदृढ बनाएर लैजान आफू प्रयासरत रहने ओलीले बताएको प्रेस संयोजक अधिकारीले जानकारी दिए । उनले दुई देशबीचको मित्रतालाई थप बलियो बनाउन नजिकबाट काम गर्न आफू तयार रहेको बताएका छन्। दुई मुलुकका जनताको प्रगति र समृद्धिका लागि दुवै पक्षलाई लाभ हुनेगरी काम गर्नुपर्नेमा उनको जोड छ। प्रधानमन्त्री मोदीले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुनेमा विश्वास व्यक्त गरेका छन्।