पार्टी एकताको सरगर्मीमा नारायणकाजी र घनश्याम भुसालको हात्तीवनमा घण्टाभरको गोप्य वार्ता

काठमाडौं : नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालबीच शुक्रबार हात्तीवनमा करिब एक घण्टा लामो भेटवार्ता सम्पन्न भएको छ।
श्रेष्ठको निवासमा बसेको उक्त छलफल पार्टी एकताको सम्भावना र वर्तमान राजनीतिक परिस्थिति केन्द्रित भएको बताइन्छ। माओवादी र एकीकृत समाजवादीबीच पछिल्ला दिनमा पार्टी एकताबारे चासो बढिरहेको समयमा भएको यो भेटलाई महत्त्वपूर्ण संकेतको रूपमा हेरिएको छ।
पार्टी एकतासँगै आगामी राजनीतिक समीकरण, सरकार गठनमा भूमिका र समसामयिक घटनाक्रममा दुई नेताको दृष्टिकोण मिलाउने विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ।
दुबै नेता विगतदेखि नै वाम एकताका पक्षधर मानिँदै आएका छन् र हालको अस्थिर राजनीतिक अवस्थालाई समाधान गर्न एकताबद्ध वाम मोर्चाको आवश्यकता रहेको धारणा राख्दै आएका छन्।