काठमाडौँ: पहिरोले नहर पुरिँदा स्याङ्जाको चापाकोटमा झण्डै ५ सय हेक्टर जमिन बाँझो भएको छ । चापाकोट नगरपालिका–४ दार्सिङस्थित ज्याग्दीखोलामा बाँध बाँधेर २७ किलोमिटर टाढाबाट सिँचाइका लागि पानी ल्याइएको नहर पहिराले पुरिँदा खेतीयोग्य जमिन बाँझो रहेको हो । गत असार २२ गते अविरल वर्षासँगै आएको पहिरोले ठूला ढुङ्गा ल्याइ नहर पुरिएको थियो ।
अहिले पनि नहरबाट पहिरो हटाउन नसकिएकाले पानी सञ्चालन गर्न नसकिएको चापाकोट टार सिँचाइ योजना जल उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद सुवेदीले बताउनुभयो । “गत असार २२ गते विभिन्न ठाउँमा नहरको माथिल्लो भागबाट ठूला ढुङ्गासहितको पहिरो आएर पुरिएको छ”, उहाँले भन्नुभयो, “ससाना पहिराहरु त हटायौँ तर ठूला ढुङ्गासहितको पहिरो हटाउन पटकपटक प्रयास गरिएता पनि सकिएको छैन ।”
नहरको ६.३ किमीको दूरीमा रहेको भुङ्दी र ५ किलोमिटरको दूरीमा रहेको डाङ्ग्रेपानी भन्ने ठाउँमा ठूला ढुङ्गासहितको पहिरोले नहर अवरुद्ध भएको उहाँले बताउनुभयो । “स्थानीय खोला खोल्साको पानीले करिब ५ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ”, उहाँले भन्नुभयो, “बाँकी रहेको ५ सय हेक्टर क्षेत्रफलमा रोपाइँ गर्नका लागि नहर चल्नैपर्छ, वर्षा नभएमा र नहर नचलेमा अहिले आंशिक रुपमा रोपिएको धान खेतमा पनि धाँजा फाट्छन् ।”
पहिरो फ्याकेर नहर संचालन होला र खेत रोपौला भनेर बसेका यहाँका कृषकहरुको आशा अब मर्न थालेको छ । स्थानीय सुवास देवकोटाको चापाकोट ९ मा १०÷१२ रोपनी खेत बाँझै छ । देवकोटालाई अझै १ हप्ताभित्र नहर संचलान भए त खेत रोप्न सकिन्छ कि भन्ने आशा छ । खेत रोप्नलाई राखिएको कृषकको बीउ झारले पुरिएको छ । साउन महिनाको अन्तिम सम्ममा पनि नहर संचालन हुन सकेमा खेत रोप्न सकिने देवकोटाको भनाई छ । तर अन्य कृषकहरुको भने आशा मरिसकेको छ । ʻयसपटक भोकमरी लाग्ने भयो, भएभरको खेत बाँझै छʼ, स्थानीय दिपा भट्टराईले गुनासो पोख्नुभयो ।