Online News Portal

नेपाल महिला टि–२० विश्वकप एसिया छनोटको सुपर–३ चरणमा प्रवेश

 

काठमाडौँ : नेपालको महिला क्रिकेट टोलीले थाइल्याण्डमा जारी आईसीसी महिला टि–२० विश्वकप एसिया छनोटको सुपर–३ चरणमा स्थान सुरक्षित गरेको छ। समूह ‘सी’ अन्तर्गत नेपाल, हङकङ र बहराइनबीच प्रतिस्पर्धा भएको थियो।

 

 

 

नेपालले बहराइनविरुद्ध वर्षाले छोट्याइएको पाँच ओभरको खेलमा ९ विकेटको सहज जित हात पार्‍यो। हङकङविरुद्धको खेल भने वर्षाका कारण रद्द भयो, जसमा दुवै टोलीले एक–एक अंक बाँडे। अन्ततः, नेपालले दुई जित, एक हार र एक नतिजाविहीन खेलसहित समूहमा शीर्ष स्थान हासिल गर्‍यो।

आईसीसीको नियमअनुसार, डबल राउन्ड रोबिन लिगपछि अंक बराबरी भएमा बढी जित निकालेको टोली अगाडि बढ्ने प्रावधान छ। यसै आधारमा नेपालले सुपर–३ मा स्थान बनाएको हो।

सुपर–३ चरणमा समूह ‘ए’ बाट थाइल्याण्ड, समूह ‘बी’ बाट युएई र समूह ‘सी’ बाट नेपालले स्थान बनाएका छन्। यी तीन टोलीबीच राउन्ड रोबिन खेलपछि शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछन्, जुन २०२६ मा इंग्ल्याण्ड र वेल्समा हुने महिला टि–२० विश्वकपको अन्तिम चरणमा पुग्ने मार्ग हो।