निश्चित मापदण्डका आधारमा बजेट बनाउनुपर्छः प्रमुख सचेतक परियार

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले निश्चित मापदण्डको आधारमा बजेट बनाउनुपर्ने बताउनुभएको छ ।
उहाँले विगतदेखि नै बजेट निश्चित विधि र पद्धतीमा नबनेको भन्दै यसकारण बजेटको विरोध हुने गरेको बताउनु भयो । उहाँले बजेटको समन्यायिक वितरण हुनुपर्ने बताउनु भयो । उहाँले अमुक मन्त्री हाबी हुने बजेट बनाउन बन्द गर्नुपर्ने बताउनु भयो । उहाँले सबै निर्वाचन क्षेत्रमा निश्चित न्यूनतम बजेट जाने व्यवस्था गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘अब बजेट एउटा विधिमा बनाऔँ । एउटा पद्धतीमा बनाऔँ । यसलाई एउटा सुत्रमा बनाऔँ । समन्यायिक विकासको कुरा हामी सबै गर्छौ । तर समन्यायिक बजेट वितरण किन हुन सक्दैन ? अमुक मन्त्री हाबी हुने बजेट बनाउन अब हामी बन्द गरौँ । एउटा निश्चित मापदण्ड, निश्चित व्यवस्था त गर्न सकिन्छ होला नि त । कानून तर्जुमा गर्न सकिन्छ होला नि त । सरकारका, मन्त्रीको विशेष प्राथमिकता होलान् । तर कमसेकम हाम्रा सबै क्षेत्रमा, सबै भुगोल, सबै निर्वाचन क्षेत्रमा न्यूनतम यति बजेट जाने भन्ने कुरा त गर्न सकिन्छ होला नि । त्यो खालको कार्यपद्धती बनाउन किन नसक्ने ? त्यो गर्न सकियो भने मात्रै बजेट, सरकारका माथि आएका टिकाटिप्पणीहरु कम हुन्छ भन्ने मलाई लाग्छ । अन्यथा फेरि पनि बजेट माथि गर्ने वहस यस्तै रहन्छ ।’
उहाँले गृह मन्त्रालयको काम सम्मान गर्न लायक र सन्तुष्ट हुने खालको रहेको बताउनु भयो ।