Online News Portal

निर्माण व्यवसायीहरुले गुणस्तरीय काम नगर्दा जिल्लामा विकास योजना लैजाने वातावरण छैनः सांसद तामाङ

काठमाडौँ : नेपाली काँग्रेसका सांसद पूर्णबहादुर तामाङले निर्माण व्यवसायीहरुले गुणस्तरिय काम गर्न छाडेको बताउनुभएको छ ।

शनिवार निर्माण व्यवसायी महासंघ अन्तर्गतको एशोसिएट सदस्य समन्वय समितिको १२ औं साधरण सभामा बोल्दै सांसद तामाङले यस्तो बताउनुभएको हो । उहाँले निर्माण व्यवसायीहरुले गुणस्तरीय काम दिन नसक्दा जिल्लामा विकास निर्माणका काम लिएर जाने वातावरण नभएको उल्लेख गर्नुभयो । उहाँले जिल्लामा सडक निर्माण लगायत अन्य विकास निर्माणका काम दिएपनि निर्माण व्यवसायीहरुले गुणस्तरीय काम दिन छाडेको भन्दै निर्माण व्यवसायीहरुलाई गुणस्तरीय काम दिन आग्रह गर्नुभयो । सांसद तामाङले गत वर्ष जिल्लामा ५० लाखको बजेट लैजाँदा सडक निर्माणको लागि निर्माण व्यवसायीले ३२, २८ हुँदै २२ लाखमा बेचेर कम गुणस्तरको काम गरेको जानकारी दिनुभयो । उहाँले निर्माण व्यवसायीहरुले विकास निर्माणको काम टेण्डर अनुसार गुणस्तरीय दिन आवश्यक रहेको बताउनु भयो । उहाँले ठेक्का पाएपछि टेण्डर अनुसार काम गर्दा मात्रै निर्माण व्यवसायीहरुको छवि राम्रो हुने उल्लेख गर्नुभयो । सांसद तामाङले सडक पिच गर्दा ८ बोरा सिमेन्टको प्रयोग हुनुपर्नेमा ३ बोरामा काम गरिरहेको समेत पाएको बताउनु भयो । उहाँले अर्को तिर विकास निर्माणको काममा कर्मचारीहरुले निर्माण व्यवसायीहरुलाई धेरै दुःख दिएको भन्दै देशमा सचिवदेखि मुख्य सचिवसम्मका कर्मचारीहरु करारमा राख्न आवश्यक भएको उल्लेख गर्नुभयो । उहाँले नेपाली काँग्रेसको सरकार हुँदा डा.प्रकाशशरण महत अर्थमन्त्री बनाउन ज्यान दिएर लागे पनि अर्थमन्त्री भएर रामेछापलाई एक रुपैयाँ पनि बजेट नदिएको गुनासो गर्नुभयो । उहाँले अहिले धेरै व्यवसायी साथीहरुको हालत पातलो भएको भन्दै निर्माण व्यवसाय क्षेत्रबाट सांसद भएकाहरुले निर्माण व्यवसायीहरुको पक्षमा राम्रो काम गर्न नसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ जिल्लामा विकासका कामहरु लिएर जाने वातावरण बनेको छैन । जिल्लाका सडक लगायतका विकास निर्माणका कामहरु लिएर जाँदा निर्माण व्यवसायीहरुले गुणस्तरीय काम दिन छाडेका छन् । निर्माण व्यवसायीहरुले गुणस्तरीय काम दिन आवश्यक छ । जिल्लामा विकास लगेर पनि काम गर्न सकिने अवस्था छैन । गत वर्ष जिल्लामा ५० लाखको बजेट लिएर गएको ४४ लाखको टेण्डर गरायो ३२ लाखमा घटेर टेण्डर हाल्यो । ३२ लाखमा पाएको निर्माण व्यवसायीले २८ लाखमा बेचे छ । फेरी २८ लाखले २२ लाखमा बेचेछ । सिमेन्ट ३ बोराले डलान हाल्ने भनिएको रहेछ । आठ बोराले हाल्ने स्टामेण्ट छ । आठ बोरा नहाले पनि सात बोरा हाल्नुस् भने तर पाँच बोरामा काम गरेछन् । विकास लिएर गए पनि जिल्लामा निर्माण व्यवसायी साथीहरुले यस्तो तरिकाले काम गर्छन् । के विकास लैजाने ? निर्माण व्यवसायीले गुणस्तरीय काम दिन सक्दैन । यो देशमा सचिव देखि मुख्य सचिवसम्मका कर्मचारीहरु करारमा राख्नुपर्छ । अहिलेका कर्मचारीहरु कसैलाई टेरदैनन् । सरकारी कर्मचारीहरुले व्यवसायीहरुलाई धेरै दुःख दिएका छन् । नेपाली काँग्रेसको सरकार हुँदा डा.प्रकाशशरण महत अर्थमन्त्री हुनुपर्छ भनेर लडाई गर्ने आफू पनि हो । तर उहाँ अर्थमन्त्री हुँदा मेरो जिल्ला रामेछापलाई एक रुपैयाँ पनि बजेट दिएन । अहिले धेरै व्यवसायी साथीहरुको हालत पातलो भएको छ । निर्माण व्यवसाय क्षेत्रबाट माननीय भएका साथीहरुको राम्रो रिपोर्ट संसदभित्र देखिन । संसदमा यति बेइज्जती छ । मेरो कम्पनी बच्यो मात्रै भन्न मान्यहरुले सकेको छैन । संसदबाट सबै सांसद साढे १० करोड तलव भत्ता खाएपनि एउटा विधेयक पास गर्न सकेका छैनौं । तर निर्माण व्यवसायीहरुले सम्पति बेचेर निर्माणको काम गरेको छ ।’

उहाँले महिनामा १० करोड बढी राज्यबाट तलवभत्ता खाने सांसदहरुले अहिलेसम्म संसदको एउटा अधिवेशनमा एउटा विधेयकसमेत पास गर्न नसकेको बताउनु भयो ।

Advertisement

Click the button below to skip this ad and read the full article.