नाइजेरियाका राष्ट्रपतिद्वारा अफ्रिकामा थप रणनीतिक लगानीका लागि आग्रह

काठमाडौँ: नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले अन्तर्राष्ट्रिय विकास फाइनान्सरहरूलाई अफ्रिकी महादेशलाई विकास र समृद्धिको गन्तव्यको रूपमा हेर्न आह्वान गर्दै कृषि, पूर्वाधार, अनुसन्धान र विकासमा थप रणनीतिक लगानी गर्न आग्रह गर्नुभएको छ । नाइजेरियाको राजधानी अबुजामा प्रवन्ध निर्देशक मख्तर डिओपको नेतृत्वमा रहेको विश्व बैंक समूहको सदस्य इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) को प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले अफ्रिकामा विकास, शान्ति र स्थायित्वको सम्भावना रहेको कुरामा जोड दिनुभयो । अप्रिलसम्म २.१ बिलियन अमेरिकी डलरको सक्रिय लगानी पोर्टफोलियोको साथ अफ्रिकाको दोस्रो ठूलो पोर्टफोलियो नाइजेरिया भएको टिनुबुले उल्लेख गर्नुभयो । डिओपले नाइजेरियाको आफ्नो कार्य भ्रमणको क्रममा आईएफसीले नाइजेरियाका साझेदारहरूसँग कृषिको वृद्धि गर्न, सिँचाइ खेतीमार्फत खाद्यान्न उत्पादन बढाउन, यातायात सञ्जालहरू अपग्रेड गर्न र क्षेत्रीय एकीकरणलाई बलियो बनाउन फलदायी छलफल गरेको बताउनु भयो । उहाँले नाइजेरियामा बढ्दो कृषि व्यवसायमा आईएफसीको दीर्घकालीन प्रतिवद्धताको पुष्टि गर्दै अन्तर्राष्ट्रिय विकास फाइनान्सरले पनि कृषि क्षेत्रमा साना तथा मझौला उद्यमहरूलाई सहयोग गरेको बताउनु भयो ।