Online News Portal

नबिल बैंकले ५ अर्ब रुपैयाँको अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट सम्पन्न

काठमाडौं : नबिल बैंक लिमिटेडले ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ को बाँडफाँट सम्पन्न गरेको छ। बैंकका अनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयर सफलतापूर्वक बाँडफाँट गरिएको हो।

नेपाल धितोपत्र बोर्डको स्वीकृति प्राप्त भएपछि बैंकले पुस १ गते उक्त अग्राधिकार शेयरको अन्तिम बाँडफाँट गरेको जनाएको छ। संस्थागत लगानीकर्तालाई लक्षित गर्दै परिपत्र विधि (व्यक्तिगत तवर) बाट प्रस्ताव आह्वान गरी प्राप्त आवेदनअनुसार शेयर बाँडफाँट गरिएको हो।

नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डबाट अविमोच्य असञ्चिति अग्राधिकार शेयरसम्बन्धी नीतिगत व्यवस्था लागू भएपछि यस किसिमको अग्राधिकार शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाउने नबिल बैंक पहिलो बैंक बनेको छ।

अविमोच्य असञ्चिति अग्राधिकार शेयर निश्चित भुक्तानी अवधि नतोकिने तर बैंकले वितरणयोग्य मुनाफा आर्जन गरेको वर्षमा निश्चित दरको लाभांश प्राप्त हुने पुँजी बजार उपकरण हो।

यस उपकरणको जारीसँगै अतिरिक्त प्राथमिक पुँजीमार्फत बैंकको पुँजीगत आधार थप सुदृढ हुने, जोखिम वहन क्षमता बढ्ने तथा व्यवसाय विस्तारमा सकारात्मक सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

हाल नबिल बैंकले देशभर २६८ शाखा र ३२१ एटीएममार्फत २५ लाखभन्दा बढी सेवाग्राहीलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.