Online News Portal

थापाथली अस्पतालमा वर्षमा २२ हजार महिला सुत्केरी

काठमाडौं:  परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा शल्यक्रियामार्फत् सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएको छ । अस्पतालमा आर्थिक वर्ष २०७९/८० का तुलनामा आव २०८०/८१ मा चार प्रतिशत बढी शल्यक्रिया गरेर नवजात शिशु जन्माउने सुत्केरी बढेका हुन् ।

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार आव २०८०/८१ मा ४३ प्रतिशत अर्थात् नौ हजार ६०० महिलाले शल्यक्रिया मार्फत् शिशु जन्माएका थिए । सो अवधिमा अस्पतालमा २२ हजार दुई सय ७० महिला सुत्केरी भएका थिए ।

उनका अनुसार पहिलो पटक गर्भवती भएकालाई व्यायाम गराउने, मानसिक र शारीरिक रुपमा बच्चा जन्माउनुपर्दछ भनेर परामर्श गर्ने, दुखाइरहित सामान्य प्रसूति गराउने जस्ता कार्य गर्नुपर्दछ । अस्पतालका कार्यकारी निर्देशक डा अधिकारीले अस्पतालले शल्यक्रियालाई भन्दा पनि सामान्य तरिकाले सुत्केरी गराउने प्रयासलाई उच्च प्राथमिता दिएको जानकारी दिए ।

अस्पतालले दुई वर्षदेखि शिशु जन्माउँदा अत्यधिक दुखाइ हुनेलाई दुखाईरहित सेवा प्रदान गर्ने उनको भनाइ छ ।

‘शिशु जन्माउने क्रममा अत्यधिक दुखाइ भयो भने शल्यक्रियाको सट्टा दुखाई कम गराउने सेवा दिन्छौँ’ उनले भने, ‘यो सेवा दिनमा हामीले दुईदेखि तीन जनासम्मलाई मात्र दिनसक्छौँ ।’

अस्पतालका दैनिक ६० देखि ७० सुत्केरी हुने र तीमध्ये २० देखि २५ जनाको शल्यक्रिया मार्फत् शिशु निकाल्ने गरिएको छ । नेपालमा मातृमृत्युदर एक लाखमा १५१ र बाल मृत्युदर एक हजारमा २१ जनाको रहेको छ ।

Advertisement

Click the button below to skip this ad and read the full article.