Online News Portal

ताप्लेजुङमा डेंगी नियन्त्रणका लागि ‘लामखुट्टे खोज र नष्ट’ अभियान तीव्र

काठमाडौँ : ताप्लेजुङ जिल्लामा डेंगी नियन्त्रणका लागि लामखुट्टेको प्रजननस्थल पहिचान गरी नष्ट गर्ने ‘खोज र नष्ट गर’ अभियान व्यापक रूपमा सञ्चालन हुने भएको छ।

बुधबार प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको अध्यक्षतामा बसेको जिल्ला महामारी तथा विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो। बैठकमा स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन, सुरक्षा निकाय, जिल्ला अस्पताललगायत सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए।

प्रमुख जिल्ला अधिकारी शर्माले डेंगीको जोखिम देशभर फैलिसकेको बताउँदै जिल्लामा संक्रमण फैलिन नदिन सामूहिक रूपमा सतर्कता अपनाउनुपर्नेमा जोड दिए। उनका अनुसार अभियानमा समुदायको सक्रिय सहभागिता अनिवार्य हुनेछ।

स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख कुलबहादुर पौडेलका अनुसार डेंगी फैलाउने लामखुट्टे प्रायः घर वरिपरिको जमेको पानी, फूलदानी, कुलर, फ्रिजको ट्रे, रूखको खोँच, गाडीका टायर र गटर जस्ता स्थानमा वृद्धि हुन्छन्। उनले हप्तामा कम्तिमा एकपटक ती स्थानहरूको सफाइ गर्नुपर्ने बताए।

अन्तरक्रियामा सहभागीहरूले हरेक हप्ता एक दिन, र त्यो दिन एक घण्टा समय छुट्याएर समुदायमा सफाइ अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्। अभियानले लामखुट्टेको जीवनचक्र तोड्न सहयोग गर्ने जनाइएको छ।

स्वास्थ्य कार्यालयले अभियानलाई सफल बनाउन घरधुरी, कार्यालय, उद्योग, विद्यालय, टोल, क्लब, सुरक्षा निकाय, शिक्षक, विद्यार्थी सबैलाई आ–आफ्नो क्षेत्रबाट सक्रिय भुमिका खेल्न आग्रह गरेको छ।

कार्यक्रममा विभिन्न निकायका प्रतिनिधिहरू—सिंहबहादुर विष्ट (तमोर करिडोर सडक योजना), नथुनीप्रसाद यादव (डिभिजन वन), उमेश खड्का (दुर्गादल गुल्म), बेदप्रसाद गौतम (जिल्ला प्रहरी), प्रमोदप्रकाश पाठक (सशस्त्र प्रहरी), श्रीभजन राय (अनुसन्धान अधिकृत) लगायतको उपस्थिति रहेको थियो।

सहभागीहरूले नियमित सरसफाइका माध्यमबाट डेंगीको सम्भावित जोखिम न्यूनीकरण गर्न सकिनेमा विश्वास व्यक्त गरे।